मानव सेवा आश्रम कर्णालीलाई ५० हजार रुपैयाँ सहयोग

287

कर्णाली । गोठिचौर गाउँपालिका १ जुम्ला निवासी २४ वर्षीय विष्णुमाया र २२ वर्षीय निर्मला बुढालाई आर्थिक सहयोग गरिएको छ। पोखरा महानगरपालिका–१० कास्कीका जुना गुरुङ, ओमकुमारी गुरुङ र उनीहरुको आफन्तबाट मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतमा आश्रय लिइरहेका उनीहरुलाई ५० हजार रुपैयाँ सहयोग गरिएको हो।

बुढा दिदीबहिनीलाई पोखरादेखि जुम्ला भेट्न पुगेकी जुना गुरुङ उनीहरु सुर्खेतमा रहेको थाहा पाएपछि शुक्रबार जुम्लाबाट फर्केर आज सुर्खेत पुगी आर्थिक सहयोग गरेका हुन्।

‘करिब १० वर्ष अघि पोखरा हरियो खर्कमा तीन वर्ष थेरापी गरेर फर्केका उनीहरुलाई ओमकुमारीको व्यक्तिगत १० हजार रुपैयाँ र आफन्तबाट २० हजार रुपैयाँ सहयोग भएको छ,’ जुनाले भनिन्, ‘मेरो पाँच हजार रुपैयाँ र आफन्तको १० हजार रुपैयाँ सहयोग छ। बेलायतमा बस्ने मेरो छोरी निकिता गुरुङका साथीहरुले पठाएको खाजा, कपडासहित पाँच हजार रुपैयाँ गरी ५० हजार रुपैयाँ प्रदान गरेका छौँ।’

मष्तिष्क पक्षघातका कारण शारीरिक अपाङ्गता भएका उनीहरु करिब एक वर्षदेखि मानव सेवा आश्रम सुर्खेतमा आश्रय लिँदै आएका छन्। आमाको मृत्युपछि बुबाले अर्कै श्रीमती लिएर उनीहरुलाई छोडेपछि बेसाहारा बनेका दुवैलाई आइएनएफ जुम्लामा कार्यरत कर्मचारी सम्झना शाहीले करिब आठ वर्ष स्याहारसुसार गरेकी थिइन्।

शाही कामको सिलसिलामा बाहिर जानुपर्ने अवस्था आएपछि उनीहरुको व्यवस्थापनका लागि एकवर्ष अघि गुठिचौचर गाउँपालिका र जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा मानव सेवा आश्रम कर्णाली प्रदेश कार्यालयमा सिफारिस गरिएको थियो।

शारीरिक अपाङ्गता भएका उनीहरु बौद्धिकरुपले कमजोर नभएको मानव सेवा आश्रम सुर्खेत जिल्ला संयोजक सञ्जिता गौतमले जानकारी दिइन। बुढा दिदीबहिनीका लागि पोखराबाट प्राप्त नगद तथा जिन्सीसहित खुत्रुके सुरक्षित राखिएको संयोजक गौतमले बताइन।

‘बालबालिका, आमा र बाबा गरेर आश्रममा ७२ जना सहयोगापेक्षी नागरिक हुनुहुन्छ,’ उनले भने, ‘ती मध्ये एकजना बङ्गलादेशी महिला पनि हुनुहुन्छ। आश्रम रहेका केहीलाई ठीक बनाएर परिवारसँग पुनःमिलन पनि गराई दिएका छौँ।’ विष्णुमाया र निर्मला बौद्धिकरुपमा सबै बुझ्ने भएकाले आफ्नो अवस्था आफैँले देखेर कहिलेकाहीँ निराशा प्रकट गर्ने गरेको उनको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here