दल विभाजनसम्बन्धी अध्यादेश छिटै फिर्ता : प्रचण्ड

67

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश छिटै फिर्ता हुने जनाएका छन् ।

आज बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेशकै कारण मन्त्रिपरिषद बिस्तार हुन नसकेको स्वीकारेका हुन् । ‘दल विभाजनसम्बन्धी अध्यादेश छिटै फिर्ता हुन्छ र आजभोलि मै मन्त्रिपरिषद बिस्तार हुन्छ,’ अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै एक स्थायी कमिटी सदस्यले जनाए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ १ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको दल विभाजनसम्बन्धी अध्यादेश भदौ २ गते जारी भएको थियो । दल विभाजनसम्बन्धी अध्यादेशकै प्रावधानअनुसार नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भइसकेका छन् तर मन्त्रिपरिषद बिस्तारमा सोही अध्यादेशले अवरोध निम्त्याएको थियो । अध्यादेश कायमै राखेर मन्त्रिपरिषद बिस्तार गर्दा विभाजित दल थप विभाजित हुने भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो तर्फबाट मन्त्रीहरूको नाम दिन मानेका थिएनन् ।

आजै ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठकले संसद अधिवेशन अन्त्य गर्ने सिफारिस राष्ट्रपतिसमक्ष गर्ने सम्भावना रहेको छ । राष्ट्रपतिबाट संसद अधिवेशन अन्त्य भएलगत्तै देउवाले अध्यादेश फिर्ता गर्ने प्रक्रिया शुरू हुने स्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here