बजारमा भीडभाड् देखिएकाले स्वास्थ्य मापदण्ड पालना गर्नु उचित

73

काठमाडौं । दशैँ नजिकिएसँगै बजारमा किनमेलका लागि मानिसको भीड बढ्दैछ । काठमाडौंका मुख्य बजार क्षेत्र न्युरोड, नयाँ बानेश्वर, असनलगायतका ठाँउमा मानिसको भीडभाड निकै देख्न सकिन्छ । जहाँ न स्वास्थ्य मापदण्डको पूर्ण पालना भएको छ, नत अधिकांश उपभाेक्ताले मास्कको उचित प्रयोग नै गरिरहेका देखिन्छन् । यता, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने स्वास्थ्य मापदण्ड पालना गर्नको लागि आग्रह गरिरहेको छ ।

कोरोना भाइरसको संक्रमण केही घटेको भए पनि जोखिम भने नटरेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार जोखिम कायमै रहेकाले यस्ता भिडभाडले फेरि संक्रमण बढ्न सक्ने बताउनुभएको छ । पछिल्ला दिनमा बजारमा भीडभाड बढेको देखिएको छ । तर, कोभिडको जोखिम कायमै रहेकाले यस्ता भिडभाडले फेरि संक्रमण बढ्न सक्ने देखिन्छ उहाँले भन्नुभयो ।

धेरै मानिसले अझै कोभिड विरुद्वको खोप प्राप्त गर्न बाँकी रहेकाले कोभिडको जोखिम अझै कायम रहेको उहाँ बताउनुहुन्छ । दशैँ नजिकिएसँगै मानिसहरु शहरबाट गाउँ फर्कने भएका कारण ग्रामीण भेगमा अझ सतर्कता अपनाउनु आवश्यक रहेको उहाँको भनाइ छ । दशैँ–तिहार जस्ता चाडमा मानिसको जमघट, घुलमिल बढी हुने भएका कारण पनि संक्रमण बढ्न सक्ने भएकाले नागरिकले स्वास्थ्य मापदण्डको पालनामा सचेत हुनु जरुरी रहेको उहाँले बताउनुभयो ।

दशैँ मान्न भारत तथा तेस्रो मुलुकबाट स्वदेश आउने मानिसको संख्या पनि बढेको देखिएकाले ग्रामीण क्षेत्रमा जोखिम बढ्न सक्ने उहाँले बताउनुभयो । यस्तै जनस्वास्थ्यविद् डा. प्रभात अधिकारीले पनि पछिल्लो समय भीडभाड बढेकाले आगामी दिनमा कोभिडका संक्रमितको संख्यामा वृद्वि हुन सक्ने बताउनुभएको छ ।

अहिले डेल्टा भेरियन्ट सक्रिय रुपमा नै रहेकाले अधिकांश मानिसले खोप प्राप्त नगरेको अवस्थामा स्वास्थ्य मापदण्डको पालना नहुँदा संक्रमण बढ्न सक्ने उहाँ बताउनुहुन्छ । ‘मानिसको भिडभाड धेरै देखिएको छ, यसकारण संक्रमण बढ्न सक्छ । मलाई लाग्छ दशैँपछि संक्रमितको संख्या पनि केही बढ्नेछ,’उहाँले भन्नुभयो । दशैँ मनाउन भारत तथा तेस्रो मुलुकबाट आउनेहरुको संख्या पनि बढ्ने भएकाले थप नयाँ भेरियन्ट प्रवेश गर्ने जोखिम हुने समेत उहाँले बताउनुभएको समाचार विष्णु पाण्डेयले गाेरखा पत्रमा लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here