काठमाडौं । नेपालबाट चोरी भएका वा हराएका पुरात्वीक महत्वका मूर्ति तथा मूर्तिजन्य कलाकृतिहरु विश्वका विभिन्न संग्रहमा पहिचान हुने क्रम जारी छ ।
यसैक्रममा नेपालबाट चोरी भएको भगवान गणेशको ढुंगाको मूर्ति अमेरिकाको क्यालिफोर्नियाको सन-फ्रान्सेस्को स्थित जानडु ग्यालरीको संग्रहमा फेला परेको छ ।
पुरातात्विक महत्वको १७ औँ शताब्दीको भगवान् गणेशको ढुंगाको मूर्तिसन–फ्रान्सेस्कोस्थित जानडु ग्यालरीको संकलनमा फेला परेको हो ।
नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले शुक्रबार जारी गरेको सूचनामा काठमाडौँको कीर्तिपुरस्थित बाघ भैरव मन्दिर परिषरबाट चोरी भएको भगवान गणेशको मूर्ति जानडु ग्यालरीमा फेला परेको उल्लेख छ।
मूर्ति कहिले चोरी भएको भन्ने स्पष्ट छैन । तर सो मूर्तिको तस्बिर नेपालका प्रतिष्ठित कला–पुरातत्वका इतिहासकार स्वर्गीय लैनसिंह बाङ्देलको सन् १९९५ प्रकाशित भएको काठमाडौँ उपत्यकाका ढुंगाका मूर्तिहरुको संग्रह सम्बन्धी पुस्तकमा समेटिएको छ । पुस्तकमा रहेको तस्बिर बाङ्देलले सन् १९८० को दशकमा खिचेका हुन् ।
अहिले सो मूर्ति जानडु ग्यालरीमा भेटिएको हो । बाघ भैरव मन्दिरबाट भगवान गणेशको मूर्ति हराए पनि यसको अवस्था वा कहाँ छ भन्नेबारे यसअघिसम्म जानकारी थिएन।


















