‘गृहयुद्ध’ टार्नका लागि सत्ता आफ्नो हातमा लिएको सुडानको ‘सैनिक कू’ का नेता सैनिक जनरल अब्देल फातक बुर्हानले दाबी गरेका छन् ।
सत्ताच्यूत गरिएका प्रधानमन्त्री अब्दुल्ला हाम्डोकलाई उनकै सुरक्षाका लागि सैनिक जनरलकै घरमा राखिएको दाबी गरिएको थियो । अहिले अब्दुल्ला आफ्नै घर फर्किएका छन् ।
सेनाले शक्ति हातमा लिएपछि प्रदर्शन भइरहेको छ । राजधानीमा सडक, पसल तथा पुलहरु बन्द गरिएका छन् । टेलिफोन तथा इन्टरनेट सेवा पनि प्रभावित भएको छ ।
सेनाले शक्ति हातमा लिएको विरोधमा भएका प्रदर्शनमा सुरक्षा निकायले बल प्रयोग गर्दा अहिलेसम्म कम्तीमा १० जनाको ज्यान गएको छ ।
सेनाले सोमबार सरकार भंग गरी शक्ति आफ्नो हातमा लिएको हो । राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी सेनाले सोमबार सुडानमा आपतकालीन अवस्था घोषित गरेको छ ।
दुई वर्षपहिले लामो समयदेखिका शासक ओमर अल–बाशिर सत्ताबाट हटाइए यता सेना र सरकारबिच तनाव रहँदै आएको थियो ।

















