एमाले महाधिवेशनकाे प्रचारप्रसार

78

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनका लागि यस पटक सहयोग रसिद छापिएन । पोस्टर, पम्प्लेट, ब्यानर बनाइएन । भित्ते लेखनसमेत गरिने छैन ।

यद्यपि देशभरका राजमार्ग र ग्रामीण सडकमा स्वागत द्वार निर्माण गरिने छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार महाधिवेशनलाई वातावरणमैत्री बनाउने योजनाबमोजिम डिजिटल प्रचारमा जोड दिइएको छ ।

एमालेले महाधिवेशनका लागि आफ्ना आठ लाख सदस्य, शुभचिन्तक, समर्थकबाट एक सय वा सोभन्दा माथिको स्वेच्छिक सहयोग संकलन गर्दैछ । त्यसका लागि मोबाइल वालेटको सहयोग लिइने भएको छ ।

महाधिवेशनका लागि सहयोग गर्न चाहनेले क्यूआर कोड स्क्यान गरेपछि खुल्ने नेकपा ९एमाले०को खातामा ब्यालेन्स ट्रान्सफर गर्न सकिनेछ । क्यूआर कोड सार्वजनिक भएको दुई घण्टामा नै करिब दुई लाख रुपियाँ खातामा जम्मा भएको जनाइएको छ ।

महाधिवेशन प्रचारका लागि डिजिटल बोर्ड, सामाजिक सञ्जाल, वेबसाइट, एसएमएस, रेडियो जिङ्गल र युट्यवब, टिकटकजस्ता सामाजिक सञ्जालको प्रयोग गरिने छ ।

कार्यालय सचिव तामाङले भने, ‘प्रविधिको प्रयोग सस्तो, छिटो छरितो र वातावरणमैत्री पनि छ । यो प्रभावकारी पनि छ ।’

महाधिवेशनका लागि छनोट भएका प्रतिनिधिले महाधिवेशनस्थलमा पुगेर परिचयपत्र बनाउनुपर्ने झन्झटबाट समेत यस पटक मुक्ति पाउँदैछन् । गोरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here