काठमाडौं । राहदानी विभागले आज (बुधबार) बाट विद्युतीय राहदानी (ई– पासपोर्ट) जारी गर्ने भएको छ। आज एक कार्यक्रमबीच परराष्ट्रमन्त्री नारायण खड्काले औपचारिक रुपमा ई–पासपोर्ट वितरणको उद्घाटन गर्नेछन्।
पहिलो चरणमा मंसिर २ देखि २५ गतेसम्म सीमित व्यक्तिलाई परीक्षणका रुपमा ई–पासपोर्ट वितरण हुने राहदानी विभागले जनाएको छ। परीक्षणपश्चात् नियमित रुपमा ई–पासपोर्ट जारी हुने विभागको भनाइ छ। आर्थिक वर्ष २०७०÷७१ मा पहिलो पटक सरकारको योजनाको रुपमा देखिएको ई–पासपोर्टको कार्यक्रम हाल लागु हुने अवस्थामा पुगेको हो।
सरकारले यसअघि २०१५ सम्ममा ई–पासपोर्ट लागु गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। ई–पासपोर्टमा पोलिकार्बोनेट जडान गरिएको हनेछ, जसमा विद्युतीय चिप र एन्टेनामार्फत व्यक्तिको विवरण राखेर त्यसलाई लक गरिएको हुन्छ।
विभागका अनुसार आजबाट कूटनीतिक, विशेष, सर्भिस, अस्थायी सिम्यास पासपोर्ट (सिम्यान्स अभिलेख किताब), साधारण (३४ पृष्ठ) र साधारण (६६ पृष्ठ) गरी कुल ७ किसिमका पासपोर्ट जारी हुनेछ।
हाल विभागले ६ किसिमका मेसिन रिडेबल पासपोर्ट जारी गर्दै आएको थियो। ई–पासपोर्टमा भने सर्भिस पासपोर्ट पनि थपिएको छ। यो पासपोर्ट विदेशी नियोगमा काम गर्न जाने नेपाली राजदूत तथा पदाधिकारीलाई उपलब्ध गराइने विभागले जनाएको छ।


















