आजबाट सहिद स्मारक ए डिभिजन फुटबल लिग सुरु

98

काठमाडौं । नेपालको शीर्ष डिभिजनको फुटबल सहिद स्मारक ए डिभिजन फुटबल लिग शुक्रबारबाट सुरु हुँदैछ। देशको फुटबलको मेरुदण्डको रूपमा रहेको लिग शुक्रबारबाट दशरथ रंथशालामा सुरु हुन लागेको हो।

लिगको उद्घाटन खेलमा सातदोबाटो यूथ क्लबले फ्रेन्ड्स क्लबको सामना गर्दैछ। सातदोबाटो यूथ क्लब यो वर्ष मात्र ए डिभिजनमा बढुवा भएर आएको क्लब हो।

उसले यो लिगमा राम्रो प्रदर्शन गरेर लिग तालिकाको मध्येस्थानसम्म रहने योजना बनाएको छ। सातदोबाटोले मुख्य प्रशिक्षकको जिम्मा नेपालका चर्चित प्रशिक्षक मेघराज केसीलाई दिएको छ।

लामो समय  बाहिर रहेका केसी नेपाल सुपर लिगबाट फुटबल प्रशिक्षणमा फर्किएका थिए। उनी भन्छन्, ‘क्लबको हिसाबमा पहिलो पटक ए डिभिजन खेल्दै गरेको हो सातदोबाटो। हामी चाहिँ खेलिसकेका छौं। हामीले सुरुबाटै राम्रो खेल्ने लक्ष्य राखेका छौं।’

उनले अरू टिमको शैली र सातदोबाटोको शैलीमा केही भिन्न हुने पनि जनाएका छन्। भन्छन्, ‘क्लब नयाँ छ। त्यसले हामीले लिग खेल्ने शैली अरूले खेल्नेमा फरक पर्न सक्छ। तर, हामीले प्रिसिजनमा राम्रो प्रयोग गरेका छौं। क्लब पनि धेरै उत्साही छ। हामी जिम्मेवार व्यक्तिले नयाँ क्लबलाई राम्रो नतिजा दिन मिहिनेत गरिरहेका छौं।’

उनले क्लब नयाँ भए पनि सानो नभएको बताउँछन्। त्यसैले तयारीलाई विशेष प्राथमिकता दिएको कारण टिम राम्रो हुने उनी बताउँछन्। शुक्रबार सातदोबाटोले लिगको उद्घाटन खेल्दैछ भने पहिलो पटक फ्लड लाइटमा खेल्दैछ। त्यसलाई प्रशिक्षक केसी फाइदाको रूपमा लिन्छन्। भन्छन्, ‘अरूले भन्दा छिटो त्यो माहौलको अनुभव गर्न पाउनेछौं। र, हामीलाई के पनि थाहा छ भने अरूले भन्दा हामीले धेरै गर्नुपर्छ।’

त्यस्तै सातदोबाटोका कप्तान मान बहादुर तामाङले पछिल्लो समय हिमालयन शेर्पाबाट खेलेका थिए। उनी अहिले सातदोबाटोबाट कप्तानी गरिरहेका छन्। यो परिवर्तनलाई उनले आफ्नो चुनौती र अवसर दुवै मानेका छन्।

उनी भन्छन्, ‘आफूले आफूलाई प्रमाणित गर्ने अवसर। क्लब नयाँ भएकाले मैले सक्दो दिनेछु। मेरो अनुभव काम लागोस्। राम्रो नजिता आउनमा सहयोग गर्छ भन्ने अपेक्षा छ।’

यता प्रतिद्वन्द्वी फ्रेन्ड्स क्लब शुक्रबारको खेलमा जित निकाल्दै लिगमा राम्रो सुरुआत गर्न चाहन्छ। फ्रेन्डले पछिल्लो ४० दिनबाट अभ्यास गरिरहेको छ। र, अभ्यास राम्रो भएको प्रशिक्षक मृगेन्द्र मिश्र बताउँछन्।

उनी भन्छन्, ‘अभ्यास राम्रो भए पनि लिगमा पहिलो कुरा नै सुरक्षित भएर खेल्नु हो। सुरक्षित यो अर्थमा कि, यो वर्ष दुई रेलिगेसन जोन छ। त्यसबाट बच्ने कोसिस गर्नुपर्ने छ। त्यसपछि मात्र राम्रो गर्ने लक्ष्य हुनेछ। फ्रेन्ड्सको लक्ष्य नै आफू सेभ भएर खेल्ने हो। हाम्रो अधिकतम लक्ष्य ६ वा ७औं स्थान नै हो।’

उनले थपे, ‘सातदोबाटो क्लबसँग हाम्रो पहिलो खेल छ। त्यो ए डिभिजन लिगमा नयाँ क्लब हो, त्यसमा जोसश पनि छ। पहिलो खेलमा राम्रो प्रदर्शन गर्ने सोच छ।’

उस्तै योजना फ्रेन्ड्का कप्तान सुरज बिकेको पनि छ। आफू कप्तान भएपछि त्यसले  दबाब हुने उनी बताउँछन्। भन्छन्, ‘कप्तान भएपछि टिमलाई पनि सम्हाल्नु पर्छ। समग्रमा दबाब भए पनि सम्हालेर मैदानमा उत्रने हो। हाम्रो टिम राम्रो छ। तयारी पनि राम्रो गरेका छौं। लिगको पहिलो खेलमा राम्रो प्रदर्शन गछौं। हामीले उद्घाटन खेल्ने अवसर पाएका छौं। आजको खेल लिगको सुरुआत भएकाले हामी तीन अंकका लागि खेल्छौं।’ आजको खेल पौने ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here