नेपालमा यस्ताे गाउँ पनि छ जहाँ १ गाग्रो पानी लिन ३ घण्टा

84

भालुखोप । सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका वडा १२ भालुखोप र जलकिनीका स्थानीयवासी वर्र्षौदेखि दूषित पानी पिउन बाध्य भइरहेका छन् । एक गाग्रो पानीका लागि तीन घण्टा पैदलयात्रा गर्दा पनि शुद्ध पानी पाउँदैनन् । हिउँदयामभरि एक गाग्रो पानीका लागि तीन घण्टा पैदल हिँडेर जानुपर्ने बाध्यता रहेको स्थानीयहरुको गुनासो छ । सुख्खायाम सुरु भएसँगै अहिले त्यहाँ बस्ती नजिकै रहेको कुवामा पानी आउन छाडेको छ ।

गाउँलेहरु तीन घण्टा हिँडेर लखन्देही खोलाको दुषित पानी ल्याएर पिउन बाध्य भएका छन् । खानेपानीको अभावले गर्दा अड्कलेर पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी नारायण पुलामीले जानकारी दिनुभयो ।

बिहान कुखुरा बास्नासाथ स्थानीयहरु पानी लिन खोलामा पुग्नेगरेका पुलामीले बताउनुभयो । “हाम्रो धेरै पुस्ताले पानीको अभाव झेल्दै आएको छ,” पुलामीले गाउँमा आएका सञ्चारकर्मीहरुसँग दुःखेसो पोख्दै भन्नुभयो, “हाम्रो खानेपानीको समस्या कसैले पनि देखेन ।” उहाँले गाउँसम्म खानेपानी ल्याउन जनप्रतिनिधिहरुले पनि पहल नगरेको गुनासो गर्नुभयो ।

एक गाग्रो पानीकै लागि भालुखोप र जलकिनीवासीेको आधा दिन बित्छ । पानीकै अभावले त्यहाँका बसिन्दाले शौचालय प्रयोग गर्न पाएका छैनन् भने सरसफाइका लागि पनि पानीको अभावमा उत्तिकै समस्या छ ।

गाउँ नजिकको कुवामा पानी सुकेपछि अहिले स्थानीयहरु गाउँदेखि चार किलोमिटर उत्तरमा रहेको लखन्देही खोलाबाट पानी ओसार्न बाध्य भइरहेका जलकिनीकी सीता आलेले बताउनुभयो । “यहाँ पानी ओसारेरै धेरै महिला दिदीबहिनहरु ढाडका रोगी भइसक्नुभयो, के गर्नु पानी नभई पनि हुँदैन हामीले धेरै दुःख पाइरहेका छौँ, कसैले देख्दैन्,” आलेले भन्नुभयो ।
“गाउँमा कात्तिक, मङ्सिरदेखि सुक्ने कुवामा अब बर्खा लागेपछि मात्रै पानी आउँछ । स्थानीयले तीन घण्टा पैदल हिँडेर ल्याउने पानी पनि खोलाको दूषित पानी हो” स्थानीयको भनाइ छ । दूषित पानीकै कारण स्थानीयहरु पानीजन्य रोगको शिकार हुँदै आएका छन् ।

चुनावको समयमा स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा प्रतिस्पर्धा गरेका नेताहरुले गाउँमा खानेपानी ल्याइदिने आश्वासन दिएको भए पनि त्यो पूरा नभएको स्थानीयहरु बताउँछन् । भालुखोप र जलकिनी दुवै बस्ती अहिले नगरपालिका भए पनि स्थानीयले सहजरुपमा खानेपानी पाउन सकेका छैनन् ।

लालबन्दी नगरपालिका १३ का वडाध्यक्ष दुर्गाबहादुर आले भालुखोप र जलकिनीसम्म खानेपानी पुर्याउन स्थानीय सरकारको बजेटले मात्रै नपुग्ने बताउनुभयो । “भौगोलिक रुपमा ती ठाउँ निकै विकट छन्, त्यसैले हामीले मात्रै खानेपानी पुर्याउन सक्ने अवस्था छैन,” वडाध्यक्ष आलेले गोरखापत्रसँग भन्नुभयो, “प्रदेश र सङ्घीय सरकारको सहयोग भएमा मात्रै त्यहाँ खानेपानी पुर्याउन सकिने समाचार गाेरखा पत्रिकामा जनार्जन खत्रीले लेखेका छन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here