पाँचथरको रवि बजार जोड्ने ४७ किलोमिटर सडक कालोपत्र

108

पाँचथर । झापाको दमकदेखि सुरु भएर इलामको चिसापानी पञ्चमी हुँदै पाँचथरको रवि बजार जोड्ने ४७ किलोमिटर सडक कालोपत्र गर्न थालिएको छ । यो सडक इलाम र पाँचथरका ग्रामीण बस्तीलाई तराईसँग जोड्ने छोटोमध्ये एक हो ।

महाभारत पर्वतको दायाँबायाँ पर्ने इलाम र पाँचथरका बासिन्दाको तराई आवागमन सहज बनाउन २०४७ सालमा निर्माण सुरु गरिएको थियो । दमक–चिसापानी–रवि नामक उक्त सडक तीन खण्डमा विभाजन गरेर कालोपत्रको काम सुरु गरिएको हो । वर्षौंदेखि अलपत्र रहेको सडकको कालोपत्र सुरु भएसँगै स्थानीय हर्षित भएका छन् ।

सडक बनेपछि पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दसँगै इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकावासीलाई प्रत्यक्ष लाभ पुग्नेछ । सडक पूरा हुनासाथ यस क्षेत्रका बासिन्दा बिरामी पर्दा झापा लैजान र वर्षायाममा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ल्याउन सहज हुने स्थानीय जयकुमार ढकाल बताउँछन् ।

डिभिजन कार्यालय दमकका अनुसार पहिलो चरणमा ६.२९ किलोमिटर कालोपत्र सुरु भएको छ । २२ करोड ५९ लाख रुपैयाँको लागतमा पहिलो खण्डमा, दोस्रो खण्डको १५.२६ किलोमिटर सडक ५४ करोड ४४ लाख रुपैयाँमा र तेस्रो खण्डको ११.३० किलोमिटर ५९ करोड १५ लाख रुपैयाँमा कालोपत्रका लागि ठेक्का भएको उक्त कार्यालयले जनाएको छ ।

ठेक्का लागेबाहेक १४ किलोमिटर सडक क्षेत्रको भने स्तरोन्नति हुनेछ । उक्त सडक पाँचथरको उत्तर दक्षिणी क्षेत्रका नागरिकले झापा आउजाउका लागि २०१५ सालदेखि नै गोरेटोका रूपमा प्रयोग गर्दै आएका थिए । सरकारी तवरबाट सर्वेक्षण भने २०४७ सालमा मात्रै गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here