काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलका पाचौँ चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन्। प्रतियोगिताका अबका ३ चरणका खेलले आसन्न एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्ने क्लब निर्क्यौल गर्ने छ।
अखिल नेपाल फुटबल संघ-एन्फाले सातौँ चरणको समाप्तीमा शीर्षस्थानमा रहने एएफसी क्लब लाइसेन्स पाएको टिमले एएफसी कप छनाैटमा नेपालको प्रतिनिधित्व गर्ने छ।
हालसम्म मछिन्द्र , त्रिभुवन आर्मी , मनाङ मर्स्याङ्दी र एपिएफ क्लबले मात्र एएफसीको क्लब लाईसेन्स प्राप्त गरेका छन् । एएफसी क्लब लाइसेन्स पाएका क्लबले मात्र एएफसीको प्रतियोगिता खेल्न पाउने प्रावधान रहेको छ।
एएफसी कपको छनाैट आगामी अप्रिलमा हुने तालिका रहेको छ ।
चार खेल खेलेको मच्छिन्द्र क्लब १० अंकसहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको मनाङको पनि ४ खेलबाट १० अंक छ। ४ खेलबाट ८ अंक भएको त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा छ। एपीएफ क्लबले भने प्रतियोगितामा चार खेलबाट १ अंक मात्र जोडेको छ। यसरी हेर्दा शीर्ष तीन टिममध्ये एउटाले नेपालको प्रतिनिधित्व गर्ने छन्।
आगामी ३ खेलमा कसले कोसँग खेल्दै छ?
मनाङले पाचौँ चरणमा नेपाल पुलिस क्लबसँग खेल्ने छ। पुलिसको ४ खेलबाट ५ अंक छ।
मनाङले छैटौँ चरणमा मच्छिन्द्र क्लब र सातौँ चरणमा ब्रिगेड ब्वाइजसँग खेल्ने छ। ब्रिगेड ब्वाइजको चार खेलबाट ४ अंक छ। मच्छिन्द्रले पाचौँ चरणमा संकटा क्लब र सातौँ चरणमा नेपाल पुलिस क्लबसँग खेल्ने छ।
संकटाको ४ खेलबाट ८ अंक छ। यसैगरि आर्मीले पाचौँ चरणमा सातदोबाटो युथ क्लब, छैटौँ चरणमा थ्रीस्टार र सातौँ चरणमा एपीएफसँग खेल्ने छ। चार खेलपछि सातदोबाटोको ७ र थ्रीस्टारको ५ अंक छ।


















