अफ्रिकाबाट फैलिएको कोरोनाको ओमिक्रोन भाइरस ६७ देश हुँदै नेपाल प्रवेश, सरकार संक्रमण रोक्ने सवालमा निरीह !

158

—राज्यलक्ष्मी शाक्य

बेलायतमा एक दिनमै ९० हजार ओमिक्रोन संक्रमितहरु फेला परेको तथ्यांक सार्वजनिक भएपछि विश्वव्यापीरुपमै ओमिक्रोन आतंक पैmलिएको छ ।  कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई मध्यनजर गर्दै ६७ देशबाट नेपाल भित्रिनेलाई अनिवार्य होटल क्वारेन्टिइन बस्नुपर्ने निर्णय सरकारले गरेको थियो तर अध्यागमन विभागले गत शनिबार एक सूचना जारी गर्दै यसअघि गरिएको निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ, यसको अर्थ बाहिरबाट  आउनेहरुलाई अनिवार्य होटेल क्वारेन्टाइन बस्नु नपर्ने गरिएको छ  । यो समाचारले नेपाली जनमानसमा आतंक बढाएको छ । ओमिक्रोन संक्रमितहरु नेपाल प्रवेश गरिसकेका छन्, उनीहरुको संख्या कति छ ? सरकारले एकिन गर्न सकेको छैन । बाहिरबाट आउनेहरु नै संक्रमित भएको जानकारी सार्वजनिक भइसकेको छ । तर सरकार बाहिरबाट आउनेहरुलाई निगरानी गर्ने र सावधानी अपनाउने तर्पm लापर्वाही भइरहेको छ भन्ने यो सानो उदाहरणका रुपमा निर्णय उल्टाइएको घटनालाई लिन सकिन्छ ।

अध्यागमन विभागले एक सूचना निकालेर सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ । शुक्रबारको सूचनामा होटेल क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने र परीक्षणमा रिपोर्ट नेगेटिभ आए घर गएर थप सात दिन आइसोलेसनमा बस्नुपर्ने विभागका निर्देशक मुकेशकुमार केसीले जारी गरेको सूचनामा भनिएको थियो । अफ्रिकी मुलुकसहित अमेरिका, बेलायत, क्यानाडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र माल्दिभ्सबाट आउनेलाई क्वारेन्टिनमा बस्नुपर्ने भन्दै सूचना जारी गरिएको थियो । तर यो सूचना उल्टाइएको छ ।

यसैबीच सीमाना जोडिएको र नेपालसँग खुल्ला सीमाना रहेको भारतमा पनि ओमिक्रोन भाइरस बढेको पाइएकाले भारतबाट आउनेहरुका लागि विशेष सावधानी अपनाउने नीति सरकारले लिएको पाइएको छ । ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी जिल्लाको (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको जनाइएको छ ।

भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नयाँ भेरियन्ट जिल्लामा भित्रिन नदिनका लागि स्वास्थ्य सचेतनासँगै सीमामा उच्च सतर्कता अपनाइएको जनाएकी छिन् ।

उनले बोर्डरलाई सुरक्षित पार्नका लागि त्रिवेणी स्वास्थ्य चौकीबाट भन्सारमा हेल्थ डेस्क राखेको जनाएकी छिन् । सीमा हुँदै नेपाल भित्रिनेहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न लगाएको पनि उनले जानकारी गराएकी छिन् । त्रिवेणी भन्सार खुलेको भए पनि यस नाकाबाट यात्रुबाहेक अन्य मालसामान भने आयात निर्यातको काम नभएको उनको भनाइ छ, तर यसरी एउटा कुनै निश्चित जिल्लाबाट मात्र सावधानी अपनाएर ओमिक्रोन संक्रमण रोकिएला भनेर आशा गर्न सकिँदैन ।

जिल्लामा स्वास्थ्य सचेतना वृद्धि गर्दै खोपको सहजताका लागि सङ्घीय सरकारसँग पहल भइरहेको प्रजिअ मनमायाले जानकारी गराएकी छिन् । बालबालिकाका लागि मोडर्ना खोप लगाउन सुरु गरिएको भन्दै उनले ज्येष्ठ नागरिकलाई भेरोसिलको बुस्टर डोज लगाउनेबारे तयारी भइरहेको जानकारी पनि गराइन् । कोरोना भाइरसको नयाँ भेरियन्ट सङ्क्रमण बढ्न सक्ने भन्दै उनले जिल्लामा हुने कार्यक्रममा स्वास्थ्य मापदण्ड लागू भए नभएको अनुगमन गरिरहेको पनि जानकारी गराइन् ।

यही पुस १४ गतेसम्म जिल्लाका ४५ हजार विद्यार्थीलाई मोडर्ना खोपको पहिलो मात्रा लगाएर सकिने जनाइएको छ । माघको २ गतेबाट मोडर्नाको दोस्रो मात्रा विद्यार्थीलाई दिइने जनाइएको छ । विदेशमा उत्पादन भएको खोप नेपालमा अति आवश्यक महसुस हुँदै गएको छ । उत्पादक राष्ट्रहरुले खोपलाई विशेष व्यापारको रुपमा प्रयोग गर्न थाले भने नेपाल जस्ता विकासोन्मुख मुलुकका लागि खोपको उपलब्धता दुर्लभ हुने निश्चित छ ।  खोप उत्पादनतर्पm सरकारले चासो नदिने, तर खोपलाई अनिवार्य बनाउने काम भइरहेकाले यो परनिर्भरताको अर्को दुखद पाटो बन्ने निश्चित छ ।-जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here