काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अध्यक्ष नेपालका सहयोगी मोहन गौतमका अनुसार सोमबार भएको पीसीआर परीक्षणको रिपोर्ट मंगलबार आएको हो । स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ घरमै आराम गरिरहनु भएको गौतमको भनाइ छ । ‘सोमबार पीसीआर परीक्षणका लागि स्वाब दिइएको थियो । रिपोर्ट आज आएको हो’, गौतमले भन्नुभयो, ‘अहिले उहाँ होम आइसोलेसनमा हुनुहुन्छ ।’
सत्ता गठबन्धनको अर्को घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेतामा यसअघि नै संक्रमण पुष्टि भएको थियो । अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत नेता होम आइसोलेसनमा हुनुहुन्छ ।

















