नागरिकता भएर पनि पहिचानविहीनको अवस्था ! यस्तो कहाली लाग्दो अवस्थाप्रति जिम्मेवार को ?

70

-प्रीति रमण

रामबिलासले नागरिकता नै बन्धकी राखेर २० हजार ऋण लिएको समाचार देशको सरकारी समाचार संस्था राससमा प्रकाशित भएको पाईयो । सरकारी समाचार संसथामै प्रकाशित समाचार सरकारले जानकारी नपाएको होला भनेर मान्न सकिदैन ।

बीस हजार रुपैयाँ सापटीको लागि नागरिकता नै बन्धकी रु अनि समाचारमा भनिएको छ `ऋण तिर्न नसक्दा अप्ठ्यारोमा रामबिलास´

समाचार पढ्दै जाँदा  सप्तरीको डाक्नेश्वरी नगरपालिका– १ कविलासाको एक दलित परिवारका रामविलास सदाले स्थानीय साहू रवि मण्डलसँग रु २० हजार ऋण पाउनका लागि आफ्नो नागरिकता प्रमाणपत्र नै बन्धकीमा राख्नु परेको बुझियो । सरकारी समाचार पत्रमा आएको यो समाचार गलत पक्कै हैन ।

२०७६ चैत महिनामा कोरोना महामारी फैलिन नदिन सरकारले लकडाउन गरेका बेला सबै काम बन्द भएर गुजारा चलाउन नै मुश्किल भएकाले गाउँले साहु रविसँग ऋण माग्न गए ६० वर्षीय सदा । साहु रविले ऋण पाउन कुनै समान बन्धकी राख्नुपर्छ, नत्र ऋण नदिने भनेर फर्काए ।

आफूसँग बन्धकीमा राख्ने कुनै समान नहुँदा साहूकहाँ नागरिकता नै राख्नु परेको सदाको दुखेसो छ। सदासँग बन्धकीमा राख्न न कुनै जग्गा छ, न त कुनै गरगहना वा चलअचल सम्पत्ति नै , उनी भन्छन्, ९ञत्यतिकै ऋण दिनुस् म मजदुरी गरेर विस्तारै तिरिदिन्छु भनेर आग्रह गर्दा सुरुमा साहू रविले मान्नुभएन, पछि बन्धकीमा नागरिकता नै राख्नुपर्छ भन्दै नागरिकता लिनुभयो।’ नागरिकता बन्धकीमा राखेपछि ठूलो समस्यामा परेको सदाको गुनासो छ।

ऋणका लागि नागरिकता बन्धकीमा राखेपछि अहिले सदाकी श्रीमती सावित्रीदेवीलाई नागरिकताको प्रमाणपत्र बनाउन कठिन भएको छ। ‘पत्नीको नागरिकता बनाउन पतिको नागरिकता आवश्यक गरिएको छ क्यारे,’ उनले भने, ‘वडाध्यक्षबाट नागरिकताका लागि सिफारिस गराएर सबै कागजात लिइ पटकपटक बोदे बर्साइनस्थित इलाका प्रशासन कार्यालय पुगेँ तर पतिको नागरिकता नल्याएसम्म नागरिकता बनाउन मिल्दैन भनेर फर्काइदिए।’

एकातिर पतिको नागरिकता बन्धकीमा छ अर्कोतिर आफ्नो नागरिकताका लागि पतिको नागरिकता ल्याउनु भन्छ, त्यसैले ठूलो समस्यामा परेको सावित्रीदेवीको गुनासो छ।

ऋण लिएबापत बन्धकीमा राखिएको पतिको नागरिकता माग्न पटकपटक साहूँ रविकहाँ धाए पनि ऋण चुक्ता नगरेसम्म नागरिकता फिर्ता गर्न नमानेकाले अप्ठ्यारोमा परेको उनको भनाइ छ। भारतको पञ्जाबमा मजदुरी गरी हालै फर्किएका आफ्ना पतिले साहू रविलाई रु २० हजारमध्ये रु १५ हजार चुक्ता गरे पनि पुरै ऋण चुक्ता नभएसम्म नागरिकता फिर्ता नदिने साहूले बताउँदै आएका छन्।

‘नागरिकता फिर्ताका लागि कि त पूरै ऋण चुक्ता गर कि त मेरो खेतबारीमा मजदुरी गरी ऋण चुक्ता गर भन्दै आएका छन्,’ सावित्री देवी भन्छिन्, ‘एकातिर तत्काल ऋण चुक्ता गर्ने पैसा छैन, अर्कोतिर म आफू बिरामी रहेकाले काम गर्नसक्ने अवस्था छैन।’ त्यसैले अप्ठ्यारोमा परेको उनको भनाइ छ।

भारतको विभिन्न सहरमा मजदुरीका लागि नेपालबाट कामदार लैजाने र ल्याउने ठेक्कापट्टाको काम गर्दै आएका साहू रविले ऋणबापतको रकम चुक्ताका लागि सावित्री देवीका पति रामविलासलाई पनि भारतको पञ्जाब लगेका थिए।

‘मजदुरी गरेर पञ्जाबमै साहू रविलाई रु १५ हजार ऋण तिरिदिएँ,’ रामविलासले भने, ‘तर बाँकी रु पाँच हजार र केही ब्याज रकमका लागि रविले नागरिकता फिर्ता दिन चाहिरहनु भएको छैन।’

बन्धकीमा रहेको नागरिकता फिर्ता नपाएपछि मैले नागरिकताको प्रतिलिपि बनाउन खोजे पनि आवश्यक प्रमाणको आभावमा त्यो पनि सम्भव नभएको रामविलासको भनाइ छ।

‘नागरिकताको प्रतिलिपि बनाउन पहिलाको नागरिकताको नम्बर, र जारी मिति चाहिन्छ,’ उनी भन्छन्, ‘वडाध्यक्ष नजिक नागरिकता प्रतिलिपिको सिफारिस गर्न पहिलाको नागरिकताको फोटोकपी वा नागरिकता नम्बर र जारी मिति भएको कुनै प्रमाण ल्याउनू भन्नुहुन्छ, तर मसँग न नागरिकताको फोटोकपी छ, न त नागरिकताको नम्बर र जारी मिति नै थाहा छ।’ त्यसैले प्रतिलिपिसमेत बन्न नसकेको रामिविलासको गुनासो छ।

नागरिकता भएर पनि पहिचानविहीनको अवस्थामा पुग्दा राज्यका हरेक सेवा तथा सुविधाबाट समेत बञ्चित सदा दम्पतीले अहिलेको पहिचान विहीनताको अवस्थाबाट न्याय दिलाउन सबैसँग आग्रह गरेका छन्। सदा दम्पतीको समस्यालाई लिएर नागरिकताका लागि आफूहरुले पहल गरिरहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता नरेशकुमार सदा बताउँछन्। द फ्रिडक फण्डको सहयोगमा उक्त केन्द्रले डाक्नेश्वरी नगरपालिका क्षेत्रमा दलित हरुवा चरुवा परिवारका लागि नागरिकता, जन्मदर्ताका लागि अभियान सञ्चालन गर्दै आएको छ।

दलित बस्तीका हरुवा चरुवा परिवारलाई लक्ष गरी व्यक्तिगत घटना दर्तासँगै सशक्तीकरण कार्यक्रम सञ्चालन गर्दै आएको पनि बुझियो । त्यही कार्यक्रमअन्तर्गत सदा दम्पतीको नागरिकता समस्या समाधानको पहल भइरहेको थाहा भएको छ । रामबिलास सदा प्रतिनिधि पात्र हन् । यस्ता घटना गाउँतिर धेरै नै हुने गर्दछन् । माओबादीले जनयुद्ध गर्दा यस्ता घटना कार्वाहीका निसानामा पर्थे , तर अहिले माओबादीका नेता नै अर्थमंत्री छन् । किन गरियो जनयुद्ध रु किन मारिए १७ हजार नागरिक रु  नागरिकता भएर पनि पहिचानविहीनको अवस्थामा किन नागरिक रु यस्तो कहाली लाग्दो अवस्थाप्रति जिम्मेवार को रु स्वयम्  रामबिलास जिम्मेवार हुन् कि राज्य ब्यवस्था रु जनयुद्ध लडेर सरकारमा पुगेकाहरुको अग्रगमनले लज्जाबोध गर्नु पर्ने हैन र ?-जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here