देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुङ्गाको निर्माण सुस्त

35

काठमाडौं । देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुङ्गाको निर्माण सुस्त भएको छ। यहाँ कार्यरत १२७ जनामा सङ्क्रमण देखिएपछि केही दिनयता निर्माण नियमित गतिभन्दा केही सुस्त भएको हो।

सङ्क्रमण देखिएका व्यक्तिमा पनि अहिले जटिल स्वास्थ्य समस्या भने छैन। कामदार निर्माणस्थलमा नै ‘आइसोलेशन’ मा बसिरहेको र अरु कर्मचारी आ–आफ्नो घरमा नै रहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ। शारीरिक रुपमा काम गर्न सक्ने व्यक्ति पनि रिपोर्ट ‘नेगेटिभ’ नआएसम्म काम नगर्ने आयोजनाका प्रमुख नरेशमान शाक्यले बताउनुभयो। निर्माणस्थलमा सामान्य अवस्थामा ५६० जना कार्यरत रहेकामा अहिले त्यो सङ्ख्या चार सय हाराहारीमा छ।

निर्माणस्थलमा नै प्रत्येक पाँचपाँच दिनमा कोभिड परीक्षण गरेर नेगेटिभ आउने काममा लाग्ने र पोजेटिभ आउने अरुबाट अलग बस्ने गरेको आयोजनाले जनाएको छ। आयोजनामा केही दिन पहिलेसम्म दैनिक १० मिटर खन्ने गरिएकामा अहिले जनशक्ति कम भएकाले कामको गति केही सुस्त भएको प्रमुख शाक्यले बताउनुभयो।

अहिले दैनिक ६÷७ मिटर मात्रै खनिरहेको छ। सुरुङ खन्न सुरु भएदेखि नै दैनिक सात मिटर सुरुङ खन्ने योजना बनाएको भए पनि गत वर्षमा कोभिडका कारण लक्ष्यअनुसार काम हुन नसकेको उहाँले बताउनुभयो।

आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिले निर्धारित समय तालिकाभन्दा निर्माण झण्डै डेढमहिना ढिला छ। निर्माणको काम गरिरहेको जापानी कम्पनीले तोकिएको अवधिभन्दा धेरै ढिला नहुने बताइरहेको प्रमुख शाक्यले जानकारी दिनुभयो।

अबको पाँच महिनामा सुरुङ खनिसकिने गरी योजना बनाइएको छ। साउननसम्ममा सुरुङ खन्न सकिएमा त्यसपछि एक वर्ष अन्तिम काम हुनसक्छ। अबका दिनमा अरु कुनै अवरोध नभएर सरासर काम भएमा अवधिभन्दा धेरै ढिला नहुने उहाँले बताउनुभयो। कोरोना र अरु अवरोधका कारणले बाधा पुर्‍याएमा भने अवधि सकिँदा काम बाँकी रहनसक्छ।

निर्माणस्थलमा जग्गाको विवाद रहेकामा अहिले त्यो समाधान भइरहेको छ। धादिङतर्फ पूरानो विवाद बाहेक नभएको र काठमाडौँतर्फ बलम्बुमा जग्गा अधिग्रहणको काम अघि बढिरहेको प्रमख शाक्यले बताउनुभयो। सो स्थानमा ३० करोड मुआब्जाबापत बाँडिरहेको र अब ३५ करोड आउन लागेको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here