क्रिकेटर लामिछाने जेलमा बसेर मुद्दा लड्न थालेकाे दुई महिना पूरा

41

काठमाडाैं । गत २१ भदौमा एक किशोरीले बलात्कार आरोप लगाएयता नेपाली क्रिकेटका पोस्टर ब्वाइ सन्दीप लामिछानेको जीवनमा पछिल्ला ४ महिनामा धेरै उतरचढावहरू आइसकेका छन्।

उनी अपराधी हुन् या हैनन् त्यसको फैसला हुन बाँकी नै छ। हाल सन्दीप अहिले सुन्धारा स्थित केन्द्रीय कारागारमा रहेर आफ्नो मुद्दा लडिरहेका छन्। उनलाई काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियाे। यो बीचमा उनले धेरै कुराहरू गुमाइसकेका छन्। एक प्रकारले उनले आफ्नो उम्दा करिअर आँखैअगाडि भताभुङ्ग भएको साक्षी आफैँ बसेका छन्।

जेलमा बसेर मुद्दा लड्न थालेको पनि सन्दीपले आज (१८ पुस) दुई महिना पूरा भइसकेको छ। यो बीचमा उनकाे काठमाडौँ जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदा पाटन उच्च अदालतमा उनको पुनरावेदनको पेशी चलिरहेको छ। पाटन उच्च अदालतमा उनको दुई पटकको पेशी स्थगित भइसकेको छ। पहिलो पेशी बार डे परेका कारण वकिलहरू आफैँले स्थगित गरेका थिए भने दोस्रो अर्थात् गत बिहीबारको पेशी भने हेर्न नभ्याइनेमा परेको थियो। सन्दीपको मुद्दा चलिरहँदा उनीप्रति चासो राख्ने ठूलो समर्थकहरूको जमात अहिले पनि छ।

कतिपयले अदालतमा विचाराधीन मुद्दा भनेर वास्ता गरेका छैनन्। तर व्यक्तिगत रूपमा चासो राख्ने स्वतन्त्रता सबैसँग भएको बताउँछन् वकिल सरोज कृष्ण घिमिरे। घिमिरेका अनुसार सन्दीपको मुद्दामा चासो राख्ने समर्थकबाहेक सर्वाधिक बढी उनलाई अन्तर्राष्ट्रिय खेलाडीहरूले सोध्ने गरेका छन्। घिमिरे भन्छन्, ‘विभिन्न देशका प्रतिष्ठित खेलाडीहरूले वाट्सएपमा म्यासेज गरिरहन्छन्। कतिपयले फोन नै गरेर सन्दीपको अहिलेको अवस्था अनि मुद्दाका बारेमा जानकारी लिने गरेका छन्।’ घिमिरेका अनुसार इंग्ल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, भारतलगायतका देशबाट प्रतिष्ठित खेलाडीहरूले सन्दीपको मुद्दाकाे बारेमा चासो राख्ने गरेका छन्।

‘केही नाम चलेका अन्तर्राष्ट्रिय खेलाडीहरूले आफू आउँदा सन्दीपलाई सपोर्ट हुन्छ भने २४ घन्टाभित्र काठमाडौँ उत्रिन्छौँ भनेर समेत म्यासेज गरेका छन्’, घिमिरेले भने। खेलाडीहरूले सन्दीपले अन्तर्राष्ट्रिय एक्सपोजका लागि गरेको पहलसम्बन्धी पुराना म्यासेजका स्क्रिनसटहरू पठाउँछन्। तर उनीहरूलाई घिमिरेले सद्भभावका लागि धन्यवाद दिन्छन् अनि अदालतमा मुद्दा चलिरहेको जवाफ पठाउँछन्।

विदेशी खेलाडीहरूले चासो दिँदा घिमिरेलाई कुनै पनि नेपाली खेलाडीले भने सन्दीपको बारेमा चासो राखेको याद छैन। ‘अहिलेसम्म नेपालका नाम चलेका खेलाडीहरूले सन्दीपको बारेमा मसँग छलफल, जानकारी या चासो राखेको याद छैन। सम्भवत: अदालतमा विचाराधीन मुद्दा भएर होला’, उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here