शहीद दिवसमा मात्रै सजाइन्छ शहीद पार्क

149

काठमाडौ । लैनचौरस्थित शहीद पार्कमा ठड्याइएको कलशसहितको स्मारकमा लेखिएको छ, ‘शहीद स्मारक, नेपाल र नेपाली जनताको विकास गर्न, मानव अधिकार कायम गर्न र नेपालमा प्रजातन्त्र ल्याउन बेलाबेलामा बलिदान भएका ती वीर शहीदहरूको सम्झनामा १९५८ एडी विक्रम संवत् २०१५ नेपाल संवत् १०७८ ।’ स्मारकमा यस्तो लेखिएको भए पनि पार्क संरक्षणमा देखिएको उदासीनताले शहीदको सपना र बलिदानको राज्यबाट उचित कदर हुन नसकेको आभास हुन्छ ।

राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री नियुक्त भएपछि स्मारकमा माल्यार्पण गर्न जाने चलन छ । त्यससँगै हरेक वर्ष शहीद दिवसका दिन स्मारकको कलशमा फूलमाला चढाएर सामान्य कार्यक्रम गर्नेबाहेक अन्य समयमा खासै कसैले सम्झँदैनन् । पार्क संरक्षणमा खटिएका रवि मालीले भने, “यो पार्कलाई सरकारले सम्झने भनेको शहीद दिवसको दिन मात्रै हो । पाहुना पनि आउने भएकाले होला, महानगरपालिकाले यो दिन चाहिँ पार्कलाई रङरोगन गरेर चिटिक्क पार्छ । अरू दिन सुनसान हुन्छ । ”

शहीद दिवसका अवसरमा आइतबार प्रधानमन्त्री उपस्थित हुने कार्यक्रम भएका कारण शनिबार पार्क सजावटका काम दु्रत गतिमा भइरहेको थियो । दुग्ध विकास संस्थानबाट खानी विभागसम्म निस्कने बाटो विस्तार गर्ने क्रममा भत्काइएका पर्खालबाट निस्केका ढुङ्गा, माटो पन्छाउन कामदार व्यस्त थिए । लामो समयदेखि छरिएर रहेका ती सामग्री पनि शहीद दिवसका दिन कार्यक्रम गर्न लागिएकोले मात्रै पन्छाउन लागिएको मालीले बताए।

इन्द्रचोकका माली परिवारलाई महानगरपालिकाले २०२५ सालदेखि पार्क संरक्षणको जिम्मा दिएको थियो । सुरुमा श्याम मालीले जिम्मा लिएको उक्त पार्क अहिले रवि तथा उनका भाइहरूले हेरचाह गरिरहेको छ । माली परिवारले त्यहीँ बसेर फूलको बिरुवा उत्पादन गर्दै पार्क सजाउने काम गरिरहेको छ । नर्सरीबाट उत्पादित बिरुवा बेचेर आएको कमाइले खर्च धानिरहेको छ । महानगरपालिकाले तलब तथा अन्य कुनै सुविधा नदिएको मालीले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here