आगामी ५ वर्षभित्र ४ हजार ६ सय ८९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणालाइनमा जाडिने

82

काठमाडौंं । १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना अघि सारेको तीन वर्ष बित्दा निर्माणाधीन आयोजना र निर्माण भएका आयोजनाको अवस्था हेर्ने हो भने लक्ष्य पूरा नहुने देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार राष्ट्रिय प्रसारण प्रणालीमा हाल २ हजार ६१ मेगावाट विद्युत् जोडिएको छ । आगामी असारसम्म ५ सय मेगावाट र आगामी ५ वर्षभित्र ४ हजार ६ सय ८९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणालाइनमा जाडिनेछन् । अहिले विद्युत् विकास विभागको तथ्यांकअनुसार सानाठूला गरेर ७ हजार ९ सय ७ मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।

वैशाख २०७५ को अन्तिम साता श्वेतपत्र जारी गर्दै तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २०७५ सालदेखि २०८५ सालसम्मलाई ऊर्जा तथा जलस्रोत दशक घोषणा गर्दै १ सय २५ बुँदे आगामी मार्गचित्र सार्वजनिक गरेका थिए । श्वेतपत्रमा ३ वर्षमा ३ हजार मेगावाट, ५ वर्षमा ५ हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी योजना सार्वजनिक भएको थियो ।

श्वेतपत्र जारी गरेको तीन वर्ष पूरा भइसक्दा करिब २१ सय मेगावाट मात्रै विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ । आगामी पाँच वर्षभित्र ५ हजार मेगावाट बढी विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिने प्राधिकरणले जनाएको छ ।

सरकारको योजनाअनुसार निजी तथा सरकारी क्षेत्रबाट करिब ८ हजार मेगावाटका विभिन्न आयोजना धमाधम निर्माण भइरहेका छन् । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई आयोजना यही समयमा निर्माण हुन्छ भन्न नसकिने बताउँछन् । उनले भने, ‘प्राकृतिक र प्राविधिक कारणले आयोजना यही समयमा निर्माण भइसक्छ भन्न सकिँदैन अहिले हाम्रो प्रणालीमा २ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना जोडिएका छन्, सरकारले लक्ष्य लियो भन्दैमा त्यही समयमा लक्ष्य हासिल हुन्छ भन्ने छैन ।’

अरुण–३ जलविद्युत् आयोजना ९ सय मेगावाटको ठूलो आयोजना, एक मेगावाटभन्दा साना २४ वटा आयोजना रहेका छन् । यी आयोजनाबाट १८ दशमलव ६३८ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । एक मेगावाटभन्दा ठूला २ सय १५ आयोजना रहेका छन् । यी आयोजनाबाट ६ हजार ९८८ दशमलव ३७२ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । आयोगबाट २०७८ सालमा मात्रै १४ वटा आयोजनाले निर्माण अनुमति पाएका छन् ।

सय मेगावाटभन्दा ठूला आयोजना १६ वटा रहेका छन् । रसुवागढी १ सय ११ मेगावाटमध्ये भोटेकोसी १ सय २ मेगावाट, १ सय ४० मेगावाटको तनहुँ हाइड्रोपावर, २ सय १६ मेगावाटको अपर त्रिशूली–१, लाप्चे खोला १ सय ६० मेगावाट, १ सय २० मेगावाटको रसुवा भोटेकोसी, माथिल्लो तमोर २ सय ८५ मेगावाट, ४ सय ४० मेगावाटको तिला–१, ४ सय २० मेगावाट तिला–२, तल्लो मनाङ मस्र्याङ्दी १ सय ४० मेगावाट, मनाङ मस्र्याङ्दी २ सय ८२ मेगावाट, अपर मस्र्याङ्दी १ सय ३८ मेगावाट, कालीगण्डकी गोर्जे १ सय ६४ मेगावाट, १ सय २ मेगावाट अपर त्रिशूली–२, १ सय २८ मेगावाटको तमोर मेवा र ९ सय मेगावाटको अरुण–३ जलविद्युत् आयोजना रहेका छन् ।

त्यस्तै, सरकारले ‘शिक्षा र स्वास्थ्यका लागि उज्यालो विशेष कार्यक्रम’, ‘एक प्रदेश, एक मेगा प्रोजेक्ट’, ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयर धनी’, ‘हरेक घर, ऊर्जा घर’, ‘घर घरमा विद्युतीय चुल्हो’, ‘हरेक बस्ती, ऊर्जा बस्ती’जस्ता नाराका साथ १० वर्षमा १५ हजार विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको श्वेतपत्र सार्वजनिक गरिएको थियो । १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गरी १० हजार विद्युत् स्वदेशमै खपत गर्ने र ५ हजार मेगावाट विद्युत् विक्री गर्ने लक्ष्य राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here