काठमाडौं । बेलायत–भारतसंग गरेको सन् १८१६ को असमान सुगौली सन्धि, सन् १९५० मा भारतसंग भएको शान्ति तथा मैत्री सन्धि पछि सबैभन्दा राष्ट्रघाति सम्झौता एमसीसी अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आफैं अगाडि सरेको छन् । रमाइलो त के छ भने आउँदो फागुन २ गते संसदमा पेस गर्न लागिएको राष्ट्रघाति एमसीसी परियोजना राष्ट्रघाति महाकाली सन्धि गर्ने पात्रहरु देउवा र ओलीकै पोष्टमा पुगेको छ । यी दुई पात्रहरुमा सत्ताको अंश बण्डा भयो भने पारित हुने करिव निश्चित छ । यसपछि राजनीतिले अर्कै कोर्स लिन्छ ।
प्रत्यक्ष हस्तक्षेप :
अमेरिकाले स्वतन्त्र र विनादवाव निर्णय गर्ने प्रक्रियामा हठात हस्तक्षेप गरेका कारण नेपालको राष्ट्रिय राजनीति फेरि विवादित बनेको छ । अहिले नेपाली जनता र अमेरिकी शासकसँग जवर्जस्त विवाद मात्र बढेको छैन, एउटा अध्यारो भविष्यको सुरुङ भित्र जाक्किने आतंक पनि छाएको छ । केही दिनयता अमेरिकी शासकका प्रतिनिधिहरु ठाडै नेताहरुमाथि धम्कीपूर्ण भाषाको प्रयोग गर्दै खाए खा नखाए घिचको शैलीमा उत्रिएका छन् । एमसीसी अजेण्डामा उसले आफ्ना निकटमार्फत मात्र होइन सिधा सिधा आफैं हस्तक्षेपमा उत्रिएको घटनाले यसको पुष्टी गर्दछ ।
देउवाको हतारो :
सत्तारुढ पाँच दलको शीर्ष वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सके राष्ट्रिय सहमति नभए सत्तारुढ दलबीचमा सहमति गरेर जाने गरेको सत्तारुढ दलका एक नेता चित्रबहादुर केसी बताउँछन् । तर, उनलाई के त्यस्तो पछाडिबाट दवाव छ कुन्नी आफ्नो निर्णयको दुई दिन नबित्दै फेरि एमसीसी पारित गर्नैपर्ने अडान प्रमले दोहोर्याउने गरेको केसीको धारणा छ । यसरी प्रमले चार पाँच पटक नै आफ्नो धारणा अदला वदली गरेको उनी आफ्नो अनुभव सुनाउँछन् । माघ २६ गते भने देउवा विगतमा भन्दा धेरै आक्रामक रुपमा प्रस्तुत भएको केसीले बताए । अब संसदमा टेबल गर्नै पर्ने उनको मत रहेको थियो । माघ २७ गते नेपाली कांग्रेसको केन्द्रीय समितिको वैठकमा संसदमा एमसीसी टेबल गर्ने गरी औपचारिक निर्णय नै गरेको छ । नेपाली कांग्रेसको यो एकलौटी र हठात निर्णयले नेपालको राजनीति नयाँ ढंगले विकास हुने संकेत देखा परेको छ । देउवाको हतारो बुझिनसक्नु पहेली जस्तै छ ।

पाँच दल तितरवितर :
पाँच सत्तारुढ दलमा नेपाली कांग्रेस वाहेक अरुले विना संशोधन एमसीसी पारित नगर्ने स्पष्ट बताइसकेका छन् । संसदमा प्रमुख प्रतिपक्षी दल एमाले सरकारबाट हटिसकेपछि यस बारेमा औपचारिक केही बोलेको छैन । अमेरिकी पृष्ठपोषकका रुपमा एमाले भित्रै आलोचना गरिएका प्रदीप ज्ञवाली र युवराज खतिवडा वाहेक यस बारेमा खुल्ला रुपमा कसैले प्रतिक्रिया दिएका छैनन् । संसदमा टेबल गर्न भनेर बोलाइएको फागुन २ गतेको संसदको वैठक सार्न एमालेले भनिरहेको छ । एमालेले संसद अवरोध गरिरहेको स्थिति छ । एकातिर एमालेले संसदको वैठक अवरोध गर्ने, सभामुखले यसलाई टेबल गर्न सहयोग नगर्ने हो भने नेपाली कांग्रेसले कसरी जान्छ ? यो प्रश्नको उत्तर छैन ।
उत्तेजित अमेरिका :
पश्चिमाहरुले चौतर्फी घेराबन्दी गर्ने, चेतावनी दिने, कठोर भन्दा कठोर कदम चालिने छ भनेर भनिरहेकाले नेका उसैको इशारमा चल्ने स्पष्ट छ । उत्तेजित रुपमा नै अमेरिकी राजदूत र प्रतिनिधिहरु सक्रिय छन् । यिनीहरुको इगोमा ठेस लागे जसरी अत्तालिएको अवस्था छ । यसैले उनीहरुले सबै हतकण्डा प्रयोग गर्ने स्पष्ट देखिन्छ ।
ठूलै षडयन्त्र :
देउवाले देश र जनताका पक्षमा गर्नै पर्ने धेरै काम रोकेका छन् । तर, विवादि तएमसीसीलाई संसदमा पारित गराउनैपर्ने गरी लागेका छन् । यसले स्पष्ट छ, नेपालमा ठूलै राजनीतिक षड्यन्त्र भइरहेको छ ।
माघ २८ र २९गते माओवादी केन्द्रको केन्द्रीय समितिको वैठक बस्ने तय थियो । जवर्जस्त राजनीतिक तनावको स्थिति नेका र प्रमले गरेका छन् । यो तनावको अवस्था, राजनीतिक तरलताको अवस्थामा सबैतिर छलफल गर्नुपर्ने भएकाले ढुक्क भएर केन्द्रीय समितिको वैठक बस्ने अवस्था भएन ।
यसैले माओवादी केन्द्रको वैठक स्थगित हुनु ठीकै भएको छ । पदाधिकारीसहित टुंगो लगाउने महत्वपूर्ण कार्य यो हतारो, चटारो र राजनीतिक तनावका बीचमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले भ्याउन सम्भव नै थिएन ।
नेकाले संसदमा जवर्जस्त एमसीसी पारित गराउने हो भने माओवादी केन्द्रसहितका गठबन्धन शक्तिहरुले सरकार छाड्न पर्ने पनि हुनसक्छ । राष्ट्र र देशको हितको पक्षमा जोखिमपूर्ण संघर्ष गरेको माओवादीलाई देश र जनताको पक्षको अजेण्डा भन्दा माथि सरकार होइन र हुनु पनि हुँदैन । फागुन २ गते नेका संसदमा कसरी पेश हुन्छ त्यसले धेरै कुराको छिनोफानो हुन्छ ।


















