काठमाडौं । ‘जायन्ट किलर’ सातदोबाटो युथ क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै साविक विजेता मछिन्द्र फुटबल क्लब दुई खेल बाँकी छँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा सातदोबाटोलाई १–० ले हराउँदै मछिन्द्रले लगातार दोस्रो वर्ष लिगको उपाधि जितेको हो।
मछिन्द्रलाई दोस्रोपटक उपाधि दिलाउन नुर्लान नोभ्रुजोभले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले ५३औं मिनेटमा गोल गरेका थिए।
खेलको १९औं मिनेटमा विमल घर्तीमगरले काउन्टरमा गरेको प्रहारलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बचाउँदा मछिन्द्र अग्रता लिनबाट चुक्यो ।
२२औं मिनेटमा रेजिन धिमालको कर्नरमा सुनिल बलको हेडरलाई गोलरक्षक अभिषेकले बचाउँदा रिवाउन्डको नुर्लानको हेडरलाई निरज चौधरीले गोललाइनबाट ‘क्लियर’ गरे।
२९औं मिनेटमा आकाश बुढामगरको कर्नरमा निरज चौधरीको प्रहार गोलरक्षक विशाल श्रेष्ठले हुलमुलमा नियन्त्रणमा लिए।
३२औं मिनेटमा कप्तान मानबहादुर तामाङको फ्रिकिकमा मार्टिन एडेल्फे सिलो नंगाको हेडरलाई गोलरक्षक विशालले पञ्च गर्दै बचाए।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल मछिन्द्रले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो। मछिन्द्रसँगको हारसँगै सातदोबाटो ११ खेलबाट १५ अंक जोडेर छैटौ स्थानमा यथावत रहेको छ ।
जितसँगै अपराजित रहेको मछिन्द्रको ११ खेलबाट २९ अंक पुगेको छ । मछिन्द्रले ११ खेलमा ९ जित र २ बराबरीको नतिजा निकालेको छ। अब मछिन्द्रले १२औं चरणमा थ्रीस्टार र अन्तिम खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबसँग खेल्ने छ। उक्त खेलमा पराजित भएपनि दोस्रो स्थानको टोली मनाङ मस्याङ्दी फुटबल क्लबले भेट्ने छैन।
मनाङ मछिन्द्रभन्दा ९ अंकले पछाडि रहेको छ। मनाङको २० अंक रहेको छ। छैटौ चरणमा उपाधि दावेदार मनाङलाई हराएपछि मछिन्द्रको उपाधि यात्रा थप सहज बनेको थियो।


















