एमसीसी पारित नगरे परिणाम गम्भीर हुनसक्छ कि पारित गरे परिणाम गम्भीर हुनसक्छ ?

71

— मुक्तिबन्धु

“एमसीसी पारित नगरे परिणाम गम्भीर हुनसक्छ !” भन्दै वेला वेला सन्जालमा कुर्लने स्वनामधन्य नेताहरुका धम्की सुन्दा हामी नेपाली जनलाई सोध्न मन लाग्छ “नेपालको स्वाधीनता र सार्वभौमिकता अमेरिकी कम्पनीलाई सुम्पने एमसीसी पारित गर्नुचाहिँ आफैमा गम्भीर परिणाम होइन ? मुलुकको स्वाधीनता र सार्वभौमिकता नै पराइलाई जिम्मा लगाएपछि हामीलाई त्यसभन्दा गम्भीर परिणाम भोग्न बाँकी नै के रहन्छ र ?”

हो एउटा गम्भीर परिणामको सम्भावना भने छ । यी गम्भरि परिणामको खबरदारी गर्ने खलनायकहरुका लागि गम्भीर परिणामको सम्भावना छ । एम्सीसी पारित गराउन नसके नेपालका आजका शीर्ष भनिने यी खलनायकहरु सवै आपैmँ थाल खाउँ न भात खाउँको सङ्कटमा पर्न सक्छन् । देश जनताको स्वाधीनता सार्वभौमिकता बेचबिखनको बिचौलिया बनेर अग्रिम खाइसकेको अमरिकी कमिसनले भयङ्कर आगो बनेर पोल्न सक्छ । र अमेरिकी हातमा बेचिइसकेका बिचौलिया आत्माहरु तातो बगरमा पुगेको माछा भैmँ छटपटिनु पर्ने हुन सक्छ । यिनीहरुको ज्यानै जोखिममा पर्न पनि सक्छ । नेपाली जनताबाट लखेटिँदा भागिजाने ठाउँ त्यही अमेरिका हो, त्यहीँको ग्रीनकार्ड बदर हुनसक्छ । भिसा नपाइन सक्छ । सुलेमानीको भूतले लखेट्न पनि सक्छ । यी शीर्ष भनिनेहरुका लागि विशेषतः शेरबहाद्र एण्ड कम्पनीका लागि यसभन्दा गम्भीर परिणाम के हुनु चाहियो र ?

यहाँनिर सवाल के रह्यो भने यी आन्त्मविक्रयी बिचरा बिचौलियाहरुको जीवनमा आइपर्ने गम्भीर परिणाम रोक्नका लागि र यिनकै सुरक्षा, सुख र समृसमृद्धिका लागि नेपाली जनताले आफ्नो देश नेपाल पराइका हातमा गएको टुलुटुलु हेरिरहने ? राष्ट्रघाती एमसीसीको विरोध नगर्ने ? विदेशीलाई देश बेच्न अग्रिम कमिसन खाइसकेर त्यही पचाउनका लागि बुरुक् बुरुक् उफ्रिरहेका मानवाकार लुब्ध हुँडारहरु गम्भीर परिणाम भोग्नु पर्ने अवस्थामा पुग्लान् कि कठै बरा ! भन्दै नेपाली जनताले एमसीसी जस्तो घातक राजनीतिक परियोजनालाई विकास परियाजना ठानेर  अँगालो हाल्ने ? फिरङ्गी लखेटेर मुलुक सार्वभौम स्वाधीन कायम राख्न सफल गौरवशाली इतिहास बोकेका बहादूर नेपाली जनता महाभारतकालीन एकचक्रा नगरका कायर जनता त होइनन् नि ।

यहाँनिर महाभारतको त्यस घटना कथालाई एउटा दृष्टान्तका रुपमा सम्झन सकिन्छ । दुर्योधनका लाहाघरमा थुनिएर डढ्नुबाट जोगिँदै कुन्तीसहितका पाच पाण्डव लुकीछिपी एकचक्रा नगरी पुगेका थिए । दामोदर नामका कुनै एक सोझो बाहुनका घर गोठमा आश्रय लिई बसे ।

त्यस नगरका राजाको नाम  वेत्रकीय थियो । वेत्रकीय साँच्चिकै हुतिहारा थियो । हुतिहाराको राज्यव्यवस्था कस्तो हुनु ? अहिले हामीकहाँ जस्तै अन्याय अत्याचार र भ्रष्टाचारको बोलवाला थियो । राजालाई जनताका सुखदुःखको वास्ता थिएन । राजा र उसका भारदारहरुले जनताका रगतमा तर मार्ने चलन त्यस राज्यव्यवस्थामा पनि थियो । फलतः जनता साह्रै नै दुःखी थिए ।

एक दिन त्यस राज्यमा वकासुरर नामको अजङ्को  राक्षस आयो । ढिस्कामा उभिएर चिच्याउँदै त्यसल भन्यो, म आएको छु । मलाई यस राज्यमा पस्न,बस्न खान देऊ । दिएनौ भने यसको गम्भीर परिणाम हुनेछ ।

राजा र उसका मन्त्रीहरु डराए । सम्झौताको कुरा भयो । राजा र राजाका परिवार र भारदारलाई आफ्ना दरबारमा बस्न, जनताबाट कर उठाउन र भोगविलास गर्न राक्षसले सहयोग दिने, कुनै पनि वाधा नपु¥याउने अनि राक्षसलाई राज्यमा ढलीमली गर्दै जनताको जल जङ्गल जमीनमा मनोमानीगर्न र जसकसैको रगत् चुस्न, मासु लुछ्न राज्यबाट कुनै वाधाव्यवधान नगर्ने,े व्यापक छूट दिने दुई बुँदे सम्झौतापनि भयो । राक्षसलाई त्यहाँ त्यसरी बस्न दिएपछि विगत दुई दशकदेखि त्यस नगरमा मानव रक्तपायी बकासुर राक्षसको हालीमुहाली कायम भयो । जहाँ जतिबेला जसलाई भेटे पनि निमोठेर तन्तनी रगत पिइदिन्थ्यो । महिला पुरुष बालवृद्ध जसलाई जहाँ भेटे पनि लछारपछार पाथ्र्यो । घाँटी मिाठेर रगत पिउँथ्यो  । राक्षसको अत्याचारबाट मुलुकका जनता त्राहिमाम् थिए । सरकारबाट सुरक्षाको कुनै सम्भावना नदेखेपछि एक दिन जनता आपैm अघि सरेर बकासुर राक्षसकोमा गए । विनम्र बन्दै भने,“सम्माननीय राक्षसजी, रगत् मासुको भोक मेटाउन तपाइँजस्ता ठुला व्यक्तित्वलाई सडकमा निस्कन पर्नु टोल टोलमा छिर्न पर्नु ठान मान र शान सुहाउँदो कुरा भएन । हामी जनतालाई पनि कति वेला कहाँ दर्शन भेटमा परिने हो र मरिने हो ठेगानको कुरा भएन । पहिले जे भयो भयो । अव अगाडिका लागि एउटा सम्झौता गरौँ ।”

“के सम्झौता ?” राता आँखाले खाउँला जसरी हेर्दै राक्षस गज्र्यो ।

जनताबाट एक जना पाका व्यक्ति अघि सरेर भने, “सम्झौता के गरौँ भने अव उप्रन्त खानाका खोजीमा माननीय राक्षसज्यूले सडकमा निस्कन र टोल बस्तीमा पस्नु पर्दैैन । हप्ताका एक दिन शनिबार हामी टोलिया र गाउँले आपैmँ सल्लाह गरे ठुलो गाडामा थरी थरीका खाद्य परिकार भरिभराउ राखेर हजूरको दरबारको ढोकामै ल्याइदिन्छैाँ । गाडा तान्ने एक हल गोरु पनि हजूरले नै ज्यूनार गर्नुभए हुन्छ । यसको बदला हजूरले हामीलाई बाटामा निर्धक्क हिँड्न र आफ्नो काम गर्न दिनुहोस् ।”

राक्षसले आगन्तुक सवैका अनुहारतिर हेर्दै भन्यो, “बस ् यत्ति मात्रै ?”

मानिसहरु अलमलिए ।

राक्षसले आँखा अलि हँसिले बनाउँदै भन्यो, “राजकाज गर्ने अरु मानिसहरु यस्ता कुरा लुकाउँन खोज्छन् । म त महान् उदारवादी राक्षस हूँ । स्पष्टवादी पनि छु । खुलस्त भन्छु । मान्छेको घाँटी प्वाल पारेर तन्तनी तातो रगत नपिएसम्म मलाई तृप्ति नै हुँदैन ।”

“त्यो पनि व्यवस्था छ सरकार !” आगन्तुक मभध्येका एक जनाले भने, “गाडा हाँकेर आउने मान्छे तपाइँले खाइनकै लागि आउने हो । त्यसैलाई खानुस् । हुन्छ ? यति भएपछि बाटाघाटामा भेटिएका अरु कसैलाई नखानुस् । हामी निर्धक्क हिँड्न डुल्न पाउँ । यसो गर्दा तपाइँको पनि शान मान कायम रहने । हाम्रो पनि सधैँ सवैको ज्यान जोखिममा नपर्ने । यसो गर्दा राम्रै होला । हैन र ?”

एक छिन घोरिएर राक्षसले भन्यो, “ल ठीक छ, यो सम्झौता हो , बोलेको पूरा गर्नू , फरक नपरोस् । फरक प¥यो भने तिमीहरुले यसको गम्भीर परिणम भोग्नु पर्ने छ , बुझ्यौ ?” ।

हुतिहारा राजाका राज्यका कातर जनताले यस सम्झौतामा पनि राहत अनुभव गरे । यो आपत्कालीन सम्झौता थियो । सम्झौता अनुसार प्रत्येक शनिबार साँझ बयलगाडामा खाना टन्नै खाद्यसामग्री भरेर राक्षसका सेवामा पुश्याउने चलन शुरु भयो । चलन चलाएपछि चल्दै गयो । नगरबस्तीमा यो परिस्थिति फेर्ने वीर वीराङ्गना कोही निस्केन ।

सम्झौतापछि  बाटो हिँड्न जनताले डराउन नपर्ने, खानका लागि राक्षसले कतै जाने दुःख गर्नु नपर्ने त भयो तर मृत्युको सन्नाटाले शहरबस्तीका मानिसलाई गिज्याउन कहिल्यै छोडेन । जनता मुटूमा ढुङ्गा राखेर जसो तसो बाँचेका थिए ।

पाण्डवहरु त्यहाँ दामोदरका घरमा आश्रय लिएर बसेको एकाध महिनापछिको एक दिन सन्जोगले भीमसेन घरै बसेका थिए । बाँकी चार पाण्डव भिक्षाटनबाट दानापानी जोहो गर्न बाहिर निस्केका थिए । भीमसेन भन्दैथिए, “आमा, तपाइँ भिक्षाटनबाट हामीले ल्याएको खाद्यपदार्थ सुरुमै आधा मलाई छुट्याएर आधामा पाँच जना तपाइँहरु सन्तोष गर्नुहुन्छ । यति गर्दा पनि मेरो पेटमा वेला वेला मुसा दगुर्न छाड्दैन । अव त हस्तिनापुरमा जस्तै पेटभरि खान पनि रहर भइसक्यो ।”

भीमसेनका कुरा सुनेर कुन्तीले आँखाभरि आँसु पारिन् । केही भन्न गम्दै थिइन् दामोदरका घरभित्र मानिसहरु रोएको आवाज सुनियो । पख है, के भएछ मबुझेर आउँछु भन्दै कुन्ती त्यस घरभित्र पसिन् ।

भित्र मझेरीमा बसेर दामोदर आफ्नी श्रीमतीसँग भन्दै थिए, “मैले त तिमीलाई धेरै पटक भनेको हूँ, यस अन्धेर नगरीमा नबसौँ । हामी काम गरेर खाने श्रमजीवी हौँ । हामी टाढाको कुनै एक गाउँमा कसैका घर पाली बारी बसेर कसैका खेतबारीमा काम गरेर पनि निर्वाह गर्न सक्थ्यौँ । मैले पटक पटक भनेको हूँ । तिमीले जन्मस्थान नछाडौँ भन्दै जिद्दी ग¥यौ । तिम्रो कुरा काट्न मैले पनि सकिनँ । तिमी मेरो  गृहस्थ जीवनको अभिन्न सँगिनी हौ, छोरा र छोरीकी आमा हौ । मेरै पनि पालन पोषण दाता आमासमान हौ । तिमीलाई राक्षसका मुखमा पठाएर म कसरी बाँच्न सरक्छु ? यस पटक यस कुरामा तिमी जिद्दी नगर । राक्षसकोमा म आपैmँ जान्छु ।”

“हैन । यसो हुनै सक्दैन !” सुवासिनीले भनिन्, “यस निराजु मुलुकमा म एक्ली महिलाले बालबालिकालाई शिक्षा दीक्षा पालनपोषण मिलाएर हुर्काउन कसरी सक्छु ? तपाइँलाई नदखेछि मलाई यी टोल बस्तीका हुँडार ब्वाँसाजस्ता दुष्टहरुले बस्न बाँच्न दिँदैनन् । लालाबालाको बिचल्ली हुन्छ । तपाइँ घरै बस्नुस् । राक्षसका मुखमा पर्न म जान्छु ।”

यसैबीच छोरी स्वस्तिकाले भनिन्, “आमा बुवा, तपाइँहरु दुवै जाने होइन । तपाइँहरु नहुँदा यो बालक भाइ टहुरो हुन्छ ।  रुन्छ । भाइका लागि पनि म तपाइँहरुलाई राक्षसका मुखमा पर्न दिन्न । म जान्छु ।”

यता चार  वर्षको बालक सुद्युम्नले  हातमा सानो लाठी लिएर उज्याउँदै भन्यो, “तपाइँहलु कोही कतै नजानुछ्   म त्यो लाछेस्लाई यही लाथीले हानेल मालिदिन्छु ।”

बालक सुद्युम्नको कुराले आमा बा र दिदीले रुन्चे हाँसो हाँसे । यही मौका पारेर कुन्तीले दामादरसँग सोधिन्, “समस्या के हो ? मलाई भन्नुस् न !”

“दिदी, हाम्रा यी समस्या सुनेर तपाइँले के गर्न मिल्छ र ? तर पनि सोध्नुु भयो । यसरी चासो राखेर सोध्नु पनि ठुलो कुरा हो । सुन्नुस् न, कहीँ नभएको जात्रा छ हामीकहाँ । नगरमा एउटा बकासुरनामको भयङ्कर राक्षस छ ।, यहाँबाट आधा कोस पर एउटा भुतमहलमा बस्छ त्यो राक्षस । बीस वर्षअघिदेखि हामी नगरवासीहरु आलोपालो उसलाई ज्यान दिने सम्झौतामा बाँचेका छौँ । त्यो मान्छे खाने राक्षस हो । हाम्रो मुलुकको राजा भनाउँदो वेत्रकीय   मल्ल त्यसै राक्षससित मिलेमतो गरेर दरबारमा मोजमस्तीमा डुब्दै बसेको छ । त्यस राक्षसकोमा एक गाडा खाना पानीका साथ बयल हाँक्दै जानुपर्ने ज्यानअर्पण गर्नुपर्ने आजको पालो हाम्रो घरको  छ । भरे जानुपर्छ । त्यसैले हामी रुवाबासीमा छौँ ।, वाध्य छौँ । निरीह छौँ । यसै भएर रोएका छौँ !”

कुन्तीले भनिन्, “चिन्ता नगार्नुस् । मसँग एउटा उपाय छ ।”

“के छ उपाय ?”

“त्यस राक्षसकोमा  आजका लागि म मेरो माहिलो छोरालाई पठाइदिन्छु । तपाइँले हामीलाई आश्रय दिनुभएको छ । गुन तिर्ने मौकिा दिनुहोस् । म बिन्ती गर्छु । बरु  मैले छोरालाई राक्षसकहाँ पठाएको कुरा कतै नभन्नुस् । भन्नुभएछ भने म तपाइँलाई श्राप दिनेछु !” कुुन्तीका कुरा सुनेर दामोदर छक्क परे । उनको नीति र धर्मले यो मान्न सकिने कुरै थिएन । सुरुमा मानेनन् । कुन्तीले धेरै अनुनय विनय गरेपछि बल्ल बल्ल दामोदरले “हुन्छ, जनुहोस् । मलाई पाप नलागोस्” भन्दै आँसु पुछे ।

साँझ चार भाइ पाण्डव भिक्षाटनबाट घर फर्केपछि कुन्तीले सवै सुनाइन् । युधिष्ठिरले पिरलो पोख्दै भने, “के भएको आमा तपाइँ ? अस्तिमात्र पनि लाहाघरबाट हामी सवैलाई बचाएको यिनै भीमभाइले होइन ? यिनै भीमभाइका आधारमा हामी बाँचेका छौँ । यिनै भाइलाई राक्षसको मुखमा पठाउन लाग्नु भएछ । खै के भनुँ ?”

“नडराउनु्स् दाइ, मलाई पेटभरि खाने साइत जुरेको हो !” भीमसेनले हाँस्दै भने, “मैले तपाइँहरुको सेवा गर्ने काम सिङ्गै बाँकी छ । त्यस भुरे राक्षसले मलाई खान सक्दैन ।”

झमक्क साँझ प¥यो । आँगनमा खानपानको बयल गाडा तैयार भयो । गाडा हाँक्दै भीमसेनले खुसी  हुँदै नरभक्षी राक्षस भएतिर गाडा हाँके । राक्षसको महल नजिक पुग्दा मानिस र गोरुका हाड  मासु छरिएको र स्यालगिद्ध जुटेर लुछिरहेको वीभत्स र दुर्र्गिन्धत वातारण देखे । “राक्षस मारिसकेपछि छूत पनि लाग्छ । हात धुने पानी पनि नयाइएला । जेसुकै होस् पहिले आफ्नो पेटको पूजा गर्छु” भन्ने सोच्दै भोका भीमले महल अगाडि पुगेर प्रथमतः गाडाको खाना एक एक गरी पकापक खाए । हाँडीको दही पनि खाए । यत्तिकैमा भित्रबाट जङ्गिँदै बकासुर निस्क्यो । भीमसेन पिठ्यूँ फर्काएर पानी पिउन थाले । वकासुरले भीमसेनका ढाडमा जमाएर लात हान्यो । भीमसेन टस्कोमस् भएनन् । बकासुरले नजिकैको रुख उखेलेर ताक्दै भीमको ढाडमा हान्यो । भीमले देब्रे हातले रुखलाई छेके र दायाँ हातले चार बीरा पान उठाएर एकै पटक मुखमा हाले ।

यसरी एक छिन ठट्टा युद्ध गरे पछि भीमसेन उठे । बकासुर र भीमको घम्साघम्सी युद्ध भयो । घण्टौँको लडाइँपछि भीमले बकासुरलाई पछारे । छातीमा लातका लात हानेपछि बकासुर उठ्न सकेन । म¥यो ।

मुर्दा बकासुरलाई घिसार्दै नगरको ढोकानिर फ्याँकेर  महावली भीम फटाफट आफ्नो डेराघर फर्के ।

महाभारतको घटनाकथा सङ्क्षेपमा यही हो । अहिले हामीले पनि आज एमसीसीको यस महाभारतमा वकासुर राक्षससँग सामना गरेर देश र जनता जोगाउने भीमसेन उमार्न सक्नुपरेको छ, । एम्सीसीलाई पनि त्यसैगरी लतारेर अमेरिकी ढोकामा फ्याँकिदिन सक्नु पर्छ । अन्यथा हामी देशभक्त नेपाली जनताको ज्युधन खतरामा छ ।

हो, हामीलाई आज भीमसेन चाहिएको छ । हाम्रो भीमसेन अरु कोही होइन, वीरप्रसू नेपालआमाका देशभक्त छोराछोरीहरु नै हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here