निःशुल्क शल्यक्रियासमेत गर्दैनन् ‘हाइड्रोसिल’का बिरामी

46

गलकोट ।  सामान्यतया पुरुषको अण्डकोष सुन्निने रोग हो हाइड्रोसिल तर हाइड्रोसिलका कारण हात्तीपाइले रोगको सङ्क्रमण पनी हो। हात्तीपाइलेका कारण ८० प्रतिशतमा हाइड्रोसिल हुन सक्ने स्वाथ्यकर्मीले बताउँदै आएका छन्।

बागलुङमा सरकारले चाहेको समयमा हात्तीपाइले निवारण हुन सकेको छैन,त्यसैले हाइड्रोसिलका बिरामीहरु बढिरहेका छन्। हात्तीपाइलेका कारण हाइड्रोसिलका बिरामीसमेत बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ। अण्डकोषमा पानी भरिने समस्यालाई मेडिकल भाषामा हाइड्रोसिल भनिन्छ। कसैकसैलाई यसले लामो समय दुःख दिने गरेको हुन्छ । लाजशरमका कारण यस्ता अङ्गमा लागेको रोग लुकाएर राख्दा वा उपचार पद्धतिबारे थाहा नहुँदा हाइड्रोसिलको समस्या जिल्लामा झनै बढेर गएको पाइएको छ।

स्वास्थ्य कार्यालयले यही फागुन २८ गतेदेखि १३औँ चरणको हात्तीपाइले विरुद्धको आम औषधि सेवन सञ्चालन गर्ने भएको छ। तर ६ वर्षमा निवारण हुने हात्तीपाइले १३ वर्षमा समेत निवारण हुन सकेको छैन। जिल्लामा हात्तीपाइले निवारण गर्नका लागि हाइड्रोसिलको शल्यक्रियासमेत गर्न आवश्यक भए पनि हाइड्रोसिल भएका बिरामीले  शल्यक्रिया गर्नै नमान्ने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिए। जिल्ला स्वास्थ्य कार्यालयको सम्पर्कमा अहिले १६२ जना हाइड्रोसिलका बिरामी रहेको भए पनि अहिलेसम्म नौजनाको मात्रै शल्यक्रिया भएको छ।

“जिल्लामा हात्तीपाइलेको निवारण हुन सकेको छैन, हात्तीपाइलेको मुख्य लक्षण भनेको खुट्टा र अण्डकोष सुन्निने हुन्छ, खुट्टाको कुनै उपचार छैन तर अण्डकोषको शल्यक्रिया गर्न सकिन्छ,” उनले भने, “चेतनाको अभावमा निःशुल्क शल्यक्रिया हुने हाइड्रोसिलका बिरामीहरुले शल्यक्रिया गर्न नमानेको अवस्था जिल्लामा विद्यमान छ।” स्वास्थ्य कार्यालयले गत आर्थिक वर्षमा जम्मा सातजनाको हाइड्रोसिलको शल्यक्रियाका लागि सिफारिस गरेको थियो भने अहिले जम्मा नौजनालाई सिफारिस गरिएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिए।

हाइड्रोसिलको उपचार भनेको शल्यक्रिया नै भए पनि नागरिकले हाइड्रोसिललाई लुकाएर राखेको स्वास्थ्य कार्यालयको भनाइ छ। हाइड्रोसिलको उपचार निःशुल्क हुने भए पनि यातयात खर्चको अभावमा समेत कतिपय हाइड्रोसिलका बिरामी शल्यक्रियाका लागि नआउने गरेको समेत पाइएको छ। हात्तीपाइलेका कारण हाइड्रोसिल भएको छ भने हात्तीपाइलेको सङ्क्रमण अन्यलाई समेत सार्न सक्ने भएकाले शल्यक्रियामार्फत उपचार गर्नुपर्ने स्वास्थ्य कार्यालयको भनाइ छ।

आम औषधि सेवनमा बेवास्ता गर्दा जिल्लाको नारायणस्थान र कुश्मिसेरामा हात्तीपाइलेको प्रकोप अझै रहेका कारण सिङ्गो जिल्लाले हात्तीपाइले विरुद्धको औषधि १३ पटकसम्म खाने अवस्था रहेको छ। क्युलेस जातको लामखुट्टेबाट सर्ने हात्तीपाइले नेपालको १० जिल्लामा मात्रै निवारण हुन सकेको छैन। हर्निया नभएको अवस्थामा पनि हाइड्रोसिल हुन सक्छ। कतिपय अवस्थामा भने हर्नियाका कारणले पनि हाइड्रोसिल हुने गरेको चिकित्सकले जनाएका छन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here