काठमाडौं । बर्दियाकाे बारबर्दिया नगरपालिका-९ खैरेनी बस्ने सानु चौधरीको घरमा मंगलबार बेलुकी आगलागी हुँदा १४ वर्षीय दिनेश चौधरीको जलेर मृत्यु भएको छ । सानु चौधरीको श्रीमती र छोरी छिमेकीको घरमा गएको र दिनेश एक्लै घरभित्र सुतिरहेको अवस्थामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको बुझिएको छ ।
काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरस्थित भारत मोतिहारी घर भएका रहिस मन्सुरीको सिरक डस्ना बनाउने टहरामा विद्युत सर्ट भई मंगलबार साँझ आगलागी हुँदा टहरो नजिकै रहेको सोही ठाउँ बस्ने दिनेश श्रेष्ठको घर समेत जलेर करिब ३४लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागीको धुँवाको असरले अशक्त भएकी दिनेशकी आमा ७२ वर्षीया विद्यापती श्रेष्ठको ओम अस्पताल चावहिलमा उपचार भइरहेको छ ।
मोरङ, केराबारी गाउँपालिका-३ बस्ने उदय बहादुर बिकको घरमा विद्युत सर्ट भई मंगलबार बेलुकी आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, फ्रिज, दराज, काठपात, सुनचाँदीका गहना जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, मेचीनगर नगरपालिका-१२ धिमाल टोल बस्ने कालीदास राजबंशीको भान्साघरमा मंगलबार बिहान आगलागी हुँदा भाडावर्तन, अन्नपात, फ्रिज, टेवल, कुर्सी लगायतका सामानहरू जलेर करिब ६ लाख रुपैयाँ र झापा गाउँपालिका-१ सेतुमारी बस्ने ठाकुर प्रसाद रिजालको घरमा मंगलबार साँझ आगलागी हुँदा घर, सुनचाँदी, लत्ताकपडा लगायतका धनमाल जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीका विभिन्न कार्यालयबाट खटिएको प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस
सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















