फ्रेण्ड्स क्लब खप्तड गोल्डकपको फाइनलमा

79

धनगढी । ललितपुरको फ्रेण्ड्स क्लब मुख्यमन्त्री खप्तड गोल्डकप २०७८ को फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशाला बिहिवार भएको अन्तिम सेमिफाइनलमा बागमती युवा क्लब सर्लाहीलाई २-१ गोल अन्तरले हराउँदै फ्रेण्ड्सले फाइनलमा स्थान बनाउन सफल भएको हो ।

निकै रोमाञ्चक धनेको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । लिग च्याम्पियन मच्छिन्द्र, एनआरटी जस्ता टोलीलाई हराएर सेमिफाइनलमा पुगेको बागमती युवा क्लव फ्रेण्ड्ससँग पराजित भयो ।

खेलको ६४औं मिनेटमा फ्रेण्ड्सले खेलमा अग्रता बनायो । उसका लागि विदेशी खेलाडी जमोउल फ्रान्स्वाले गोल गर्न सफल भए । ७१औं मिनेटमा फ्रेण्ड्सले अन्तर २-० पुर्यायो । उसका लागि फ्रान्स्वाको क्रसमा राजिव लोप्चाङले गोल गरे ।

दुई गोलले पछि परेको बागमतीले ८३औं मिनेटमा गोल फर्काउदै अन्तर २-१ पुर्यायो । उसका लागि निकोलस फर्नान्डेसको क्रसमा ड्याडी वाम्बा जुनियरले गोल गर्न सफल भए ।

उक्त जितसँगै फ्रेणड्सले उपाधिका लागि शनिबार नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लवसँग खेल्नेछ । मनाङले पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको हो ।

गत १९ गतेबाट सुरु भएको यस प्रतियोगितामा कुल १० टोलीको सहभागी रहेको थियो । मोफसलकै सर्वाधिक ठूलो धनराशि रहेको प्रतियोगिताको विजेताले नगद २१ लाख प्राप्त गर्नेछ । भने उपविजेता नगद १० लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टोलीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।तस्बिर : सरोज श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here