काठमाडौं । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले अस्पतालमा जन्मिएका बच्चाको विवरण सिधै विभागमा लिने प्रक्रिया अगाडि बढाएको छ ।
विभागकी निर्देशक विनिता भट्टराईले अस्पतालमा बच्चा जन्मिएको विवरण फारम अस्पतालबाटै भरेर विभाग आउने व्यवस्था मिलाइएको जानकारी दिइन् । केही समयमै यो व्यवस्था सुरु हुने उनले जनाइन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागकी निर्देशक विनिता भट्टराईले भनिन्, ‘जन्मदर्ताको समस्या धेरै भयो भन्ने आउने गरेको छ । यसलाई चिर्न हामीले सीधै अस्पतालबाट फारम भरेर विभाग ल्याउन लागिएको हो ।’ तर, घरमै जन्मिएको बच्चाको सन्दर्भमा भने स्वयंले नै जन्मदर्ता नगराउँदासम्म राज्यको जानकारीमा नआउने उनले जनाइन् ।
बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नुपर्ने व्यवस्था छ । ३५ दिन भन्दा ढिलो भए विलम्ब शुल्क तिर्नुपर्ने कानुनी व्यवस्था छ । जन्म, मृत्यु, बसाइँरसाइँ लगायतका व्यक्तिगत घटना दर्ता गर्दा अनलाइन फारम भरेर वडा कार्यालयमा जानुपर्छ ।आमा–बाबु दुबैको पहिचान नभएको, विवाह दर्ता नभएको कारणले बच्चाको जन्मदर्ता नरोकिने विभागकी निर्देशक भट्टराईले जनाइन् ।


















