ऐतिहासिक चकँ द्यः जात्रा अहिले संकटमा

159

काठमाडौं । थँबही अर्थात ठमेलमा रहेको छायादेवी कम्प्लेक्सले जात्रा आयोजना हुने चोक गैर कानूनी तथा जबरजस्ती हडपेपछि  अहिले जात्रा नै संकटमा पर्न  थालिएकाे छ । साे कम्प्लेक्ससँगै रहेको सार्वजनिक डबलीसहितको चोक अतिक्रमण गरेर व्यक्तिको नाममा दर्ता गरेपछि ऐतिहासिक चकँ द्यः जात्रा अहिले संकटकाे अवस्था सृजना भएकाे छ ।

भूमाफियाको चलखेलले व्यक्तिको नाममा उक्त जग्गा दर्ता  गरेकाले सम्पदा र जात्राप्रेमीहरूले आपत्ति जनाएका छन्। डिल्लीबजार मालपोत कार्यालयको नापी शाखामा रहेको २०३३ सालको फिल्डबुकमा उक्त जग्गालाई पोखरी र सार्वजनिक चोक भनेर उल्लेख छ। ऐतिहासिक जात्रालाई मास्न नपाउने माग स्थानीयले गरेका छन्। सार्वजनिक चोकलाई व्यक्तिको नाममा दर्ता गरेकाले तुरुन्त सार्वजनिक जग्गामै कायम हुनुपर्ने पुनस्र्थापना अभियानका अध्यक्ष एवं सम्पदाप्रेमी भागवत प्रधानले  जनाए गराए । उनले  अनुसार, ‘१००० वर्षदेखि जात्रा मनाउँदै आएको जग्गालाई भूमाफियाले अम्बिका राणाको नाममा दर्ता गराएका छन्। अहिले जात्रा मनाउन दिए पनि पछि जात्रा मनाउन रोकिने अवस्था देखिएको छ। यसरी हाम्रो ऐतिहासिक जात्रालाई मास्न पाइँदैन।’

उनका अनुसार फागुपूर्णिमाको दिन र भोलिपल्ट चकँ द्यः जात्रा मनाउने परम्परा छ। फागुपूर्णिमाको दिन विहारका भगवान् चकँ द्यः लाई झिकेर विहारको दक्षिणको चोकमा विराजमान गराउने चलन रहेकाे छ ।  विभिन्न परम्परागत पूजा तथा जात्रा मनाई भोलिपल्ट विहारको पूर्वतिर हाल कमलपोहरी अतिक्रमण गरी बनाइएको विवादित छायादेवी कम्प्लेक्सको गेटतिरको डबलीसहितको चोकमा विराजमान गराई परापूर्वकालदेखिको परम्परागत पूजाआजा गरी बाजागाजासहित भगवान चकँ द्यःलाई सहर परिक्रमा गराउने परम्परा छ। ‘उक्त परम्परा  अहिलेसम्म पनि कायमै छ,’ उनले भने,‘ जात्राको बेला नाच देखाउने परम्परा पनि थियो।’

उनले ठमेलको ऐतिहासिक पोखरी हडपी बनाइएको छाया कम्प्लेक्स पुरानै अवस्थामा फर्काउनुपर्ने पनि बताए। उनले भने , ‘पैसा र शक्तिको आडमा ऐतिहासिक पोखरी मासेर छाया कम्प्लेक्स बनाइएकोले उक्त घर भएको पोखरी पुरानै अवस्थामा फर्काएर संरक्षण गर्नुपर्छ। छाया कम्प्लेक्स भवनले ऐतिहासिक अस्तित्व बोकेको पोखरी मासेको छ।’ उनका अनुसार कमलपोखरी र डिलसमेत गरी २६ रोपनी जग्ग छ। साे पोखरीमा हाल व्यापारिक १५ तले छायादेवी कम्प्लेक्स भवन ठडिएपछि विवाद चर्किएकाे छ । ५ अर्ब लगानीमा २०७१ सालबाट कम्प्लेक्स भवन बनाउन सुरु गरिएको थियो। सार्वजनिक पोखरी मासेर कम्प्लेक्स नबनाउन स्थानीयले आन्दोलन गर्दै आए पनि कम्प्लेक्स निर्माण कार्य रोकिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here