नेपाल पर्वतारोहण संघको आज हुने भनिएको ३१औं वार्षिक साधारणसभा स्थगित भएको छ।
उच्च अदालत पाटनले हिजो अल्पकालीन अन्तरिम आदेश दिएपछि साधारणसभा स्थगित गरिएको हो।
अदालतको आदेशलाई सम्मान गर्दै अर्को सूचना जारी नभएसम्मका लागि साधारणसभा स्थगित गरिएको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए।
संघको नियमित वार्षिक साधारण सभा नगर्नु नगराउनु भनी संघका विरुद्ध अन्तरिम आदेशको माग गर्दै सोलुखुम्बुका काजी शेर्पा र आङ नोर्बु शेर्पाले दायर गरेको उत्प्रेषण मुद्धामा उच्च अदालत पाटनबाट अल्पकालिन अन्तरिम आदेश भएको थियो।
साधारणसभाबाट संघको नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन आगमी जेठ २७ र २८ गते काठमाडौं आयोजना गर्नका लागि आवश्यक विधान संशोधन गर्ने गरी तय गरिएको थियो।
यस्तै केन्द्रीय कार्यसमितिको निर्वाचन गर्नका लागि संघको विधानको दफा ४२ (३) बमोजिम अधिवक्ता डा गोकुल बुर्लाकोटी निर्वाचन अधिकृत तथा अधिवक्ता डा रामशरण थपलीय र अधिवक्ता धनेन्द्रराज श्रेष्ठ सदस्य रहनेगरी तीन सदस्यीय निर्वाचन आयोग गठनसमेत गरिसकिएको थियो।
‘साधारणसभाको सम्पूर्ण तयारी तथा व्यवस्थापन भइसकेपछि अन्तिम अवस्थामा आएर साधारणसभा स्थगित गर्नु पर्दा संघका सदस्यहरु, पत्रकार तथा शुभेच्छुकहरु सम्पूर्णलाई पर्न गएको असुविधाप्रति संघ क्षमाप्रार्थी छौं,’ महासचिव गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।