–चन्द्रप्रकाश बानियाँ
यतिखेर भारतमा विवेक अग्निहोत्रीले निर्माण गरेको सिनेमा “कस्मिर फाइल्स्” विशेष चर्चामा छ । सिनेमाको समर्थन र विरोधमा सिङ्गो भारतीय समाज दुई कित्तामा चिरा परेको छ । हेर्नु पर्छ र हेर्नैं हुदैन भन्ने वहस घरघरमा चलेको छ । सिनेकृत कथाले कास्मिरको ऐतिहासिक वास्तविकता छर्लङ्ग देखाउँछ भन्ने तर्क फिल्मको पक्षमा रहनेहरुको छ । विपक्षमा हुनेहरुले फिल्ममा कस्मिर हिंसालाई अतिरञ्जित गरिएको छ, साम्प्रदायिक विद्वेष सिर्जना गर्ने खालको छ र फिल्ममा देखाइएको हिंसाले नाजी अत्याचारको विषयवस्तुमा बनेका पश्चिमा चलचित्रहरुले भन्दा पनि भद्दा हिंसा प्रस्तुत गरेको छ, त्यसैले हेर्नु हुँदैन । कमसेकम बालबालिका र किशोर किशोरीहरुलाई हेर्ने अनुमति दिनु हुँदैन भन्छन् ।
विवाद जारी छ र देशैभरका हलहरुमा फिल्म लागेको पनि छ ।यता नेपालमा पनि प्रकाश सपुतको गीती भिडियो चर्चामा छ । कस्मिर फाइल्स्ले जस्तो ठूलो परिमाण त होइन, सानोतिनो हल्ला त्यसले पनि चलाएको छ । चर्चाको अन्तर्वस्तु उस्तै उस्तै हो भन्न सकिन्छ । भारतीय सिनेमामा साम्प्रदायिक विषवस्तु परेको छ, सपुतको भिडियोमा राजनीतिक रङ्ग लतपतिएको छ । यता पनि सिर्जना स्वतन्त्रताको ठूलै हल्ला मच्चाइएको छ । उता पनि त्यसैको पैरवीमा स्वर ठूलो छ । दुबैतिर लेखकीय स्वतन्त्रताको हल्ला मच्चाइएको छ । प्रशंसा गरिएको छ । कथासार यथार्थ वस्तुसत्यमा आधारित छ । आफ्ना सिर्जनामार्फत कलकारले समाजको वस्तुसत्य उजागर गर्नुपर्छ । त्यसअर्थमा सिर्जनाकारले राम्रो गरेका छन् भनेर प्रशस्ती गायन गरिएको छ । अर्कोतिर त्यसले समुदाय विशेषलाई लक्षित गरेको छ, एउटा संगठन विशेषमाथि हिलो छ्याप्ने चेष्टा भयो, मानमर्दन गर्ने कोसिस गरियो भन्ने रोदन देखिन्छ ।
जति अनुहार उति चिन्तन । सबैको विचार सबैसंग मिल्दैन । समाजमा बहुविचार देखिनु स्वभाविक हो । विचार निर्माण प्रक्रिया मस्तिष्कले गर्छ भनेर विज्ञानले मान्छ । मस्तिष्कलाई पञ्च ज्ञानेन्द्रीयहरुले वस्तुविशेषको बारेमा विचार निर्माण गराउनमा सहयोग पु¥याउँछन् । यद्यपि ज्ञानेन्द्रीयहरुसँग हेर्ने, देख्ने, सुघ्ने, स्वादलिने वा सुन्ने अलग अलग क्षमता हुन्छ तर रुप, गन्ध, आकार खुट्ट्याउने सामथ्र्य हुदैन । आगोको भट्टीमा परेको खुट्टो आफै बाहिर निस्कँदैन । आगोबाट बाहिर निस्कन मस्तिष्कले आदेश दिनुपर्छ । मस्तिष्कले त्यो क्षमता गुमायो भने ज्ञानेन्द्रीयहरु निष्क्रिय मात्र होइन निप्रयोजनीय हुनजान्छन् । अर्थात ज्ञानेन्द्रीयहरु विषय पहिचानमा मस्तिष्कलाई सहयोग गर्ने यन्त्रहरु मात्र हुन् । वस्तु एउटै तर मानिसको विवेक, बुद्धि र ज्ञानअनुसार परिभाषा फरक पर्नुको कारण फरक मानिसको मस्तिष्कको क्षमता फरक हुनु हो ।
सिंहदरबारमा एउटा ऐनाहरुको “हाँस्ने कोठा” छ जहाँ दुई दर्जनजति समान आकारका ऐनाहरु जडिएका छन् । भन्न त ऐनामा मानिसको प्रतिविम्व जस्ताको तस्तै देखिन्छ भनिन्छ । तर त्यस कोठामा जडिएका प्रत्येक ऐनामा मानिसको अनुहार आकृति फरक बनाएर देखाउने क्षमता छ । हरेक ऐनाको अगाडि उभिँदा फरक तर विकृत आकृति देखिन्छ । प्रतिविम्व आफ्नै हुन्छ तर दुरुस्त हुदैन । आफ्नै विकृत आकृति देख्दा मानिसलाई हाँसो उठ्छ ।
त्यो हाँस्ने कोठामा जडिएका ऐनाहरुले एउटै मानिसका आकृतिहरुलाई फरक रुपमा प्रस्तुत गर्छन् । मान्छेको छायाँ उही हो तर प्रकाशको आवर्तन–परावर्तनको विचित्र संयोजनस्वरुप मान्छेको वास्तविक आकृतिको फरक अर्थात विकृत रुप देखिन्छ । यतिखेर प्रकाश सपुतको भिडियो गीतलाई लिएर समाजमा चलेको वाकयुद्ध पनि त्यस्तै हो । जसरी सिंहदरबारको फरक ऐनाले मानिसको फरक प्रतिविम्व देखाउँछ त्यसैगरी मानिसहरुमा रहेको फरक धारणा, विचार, मान्यता, आग्रह, पक्षधरता र प्रकृतिले एउटै विषयलाई भिन्न भिन्न रुपमा देख्छ, विश्लेषण गर्छ र सम्प्रेषण गर्छ । गर्न लगाउँछ ।
गीतीभिडियोमा के छ, के छैन वा के हो, के होइन भन्ने कुराको अन्तर्य खुट्ट्याउन सपुत को हुन् र उनको रचना के हो भनेर बुझ्नु जरुरी हुन्छ । त्यसरी मात्र गीतको साँचो मूल्याङ्कन गर्न सकिन्छ । ती दुई प्रश्नलाई नजरअन्दाज गरेर तर्क गर्न खोज्दा विषयको धरातल छुट्छ र सत्यबाट पर पुगिन्छ । सपुतको सिर्जना र उत्पादनको तहमा पुग्दा एउटा सम्वेदनशील कलाकारको मृत्यु भैसकेको हुन्छ र बाँकी बच्छ एउटा कुशल व्यापारी । अर्थात त्यस सिर्जनाका सर्जक सपुत व्यापारी मात्र रहन्छन् र उनको रचना विक्रीको लागि बजारमा पठाइएको एउटा उपभोग्य वस्तु मात्र बन्छ । पुँजिवादी बजार व्यवस्थाको एउटा दुर्गुण के रहन्छ भने त्यसमा नैतिकताको अंश सून्य रहन्छ । परिणाममा उपभोक्ताको ज्यानै लिने वस्तु हो भन्ने जानेरै पनि उत्पादन र विक्रिवितरण रोकिदैन । त्यसैले सपुतले उत्पादन गरेर विक्रिको लागि बजारमा राखेको वस्तुमा निहुँ जेसुकैलाई बनाइएको होस्, त्यसको एकमात्र अर्जुनदृष्टि धनार्जन हो । कुस्त कमाईको अभिलाषा हो । लालसा हो ।
समाजका विद्वान बुद्धिजीविहरुलेसमेत यथार्थ वस्तुसत्यमा आधारित अन्तर्वस्तु भएकोले सिर्जनालाई राम्रो भन्नुपर्छ र सर्जकको सिर्जना स्वतन्त्रताको सम्मान गर्नुपर्छ भनेर पैरवी गरेको देखिन्छ । हो, सिर्जनाको स्वतन्त्रता सर्जकलाई छ । त्यसमा कसैले हस्तक्षेप गर्नु हुँदैन । तर राम्रो नराम्रो भनेर समीक्षा गर्ने वा विचार अभिव्यक्त गर्ने हक श्रोतादर्शकमा रहन्छ । रुचि अरुचि प्रदर्शन गर्ने स्वतन्त्रता छ । विषयलाई प्रस्तुतिको आधारमा मात्र राम्रो वा नराम्रो भनेर मूल्याङ्न गर्नु हुदैन । त्यसले समाजमा पार्न सक्ने सकारात्मक नकारात्मक प्रभावका आधारमा गुणदोषको विवचेना र मूल्याङ्कन गरिनुपर्छ । हो, गीतको विषयवस्तुबाट चोट खाने समुदायले पनि सर्जकको सिर्जना स्वतन्त्रताको सम्मान गर्नुपर्छ तर सर्जकमा पनि सम्बन्धित पक्षको सम्वेदनशीलताको मान राख्ने चेत हुुनुपर्छ । जति नै पीडा दिएपनि सर्जकलाई देख्लास् पर्खलास भन्नु नादानी हो । आफूलाई पर्नगएको मर्काको विनम्रतापूर्वक जानकारी गराएर सम्भव छ भने, अर्थात गीतको मर्म मर्दैन भने सर्जकसमक्ष सुधारको निवेदन गर्न सकिन्छ । सुधार गर्नेनगर्ने सर्जकको सम्वेदनशीलतामा भर पर्ने कुरा हो । विवेकमा भर पर्ने कुरा हो ।
यतिखेर प्रकाश सपुत र माओवादी पार्टीका भगिनी संगठनहरु मात्र होइन सिङ्गो नेपाली समाज नै वादी प्रतिवादीजस्ता देखिएका छन् । उनीहरु पक्षविपक्षमा उभिनु स्वभाविक हो । यो सिङगो प्रकरणसंग लिनुदिनु केही नभएको समुदायले पनि आफ्नो विचार सम्प्रेषण गर्ने अधिकार राख्दछ । सर्जकलाई सिर्जनाको स्वतन्त्रता छ, श्रोता दर्शकलाई प्रशंसा वा आलोचना गर्ने अधिकार छ । नेपालको सन्दर्भमा ती दुबै कुरालाई ह्याकुलाले मिच्ने कोसिस समाजले गर्दैछ ।
यर्थार्थ त्यही हो, सत्य त्यही हो, वास्तविकता ठ्याम्मै त्यही हो भन्दैमा त्यो दर्शनीय हुदैन । प्रदर्शनयोग्य पनि मानिदैन । सम्प्रेषणीय पनि मानिदैन । संस्कृत साहित्यमा एउटा भनाईको निकै धेरै ठाउँमा उल्लेख भएको पाइन्छः “सत्यं ब्रुयात्, प्रियं ब्रुयात, नब्रुयात सत्यम्प्रियम्” । संसारभरका स्थापित टिभी न्यानलहरुमा हिंसाका समाचार वाचन गरिन्छन्, तर विद्रुप हिंसाका घटनाहरु जस्ताको तस्तै देखाइदैनन् । युक्रेनमा रशियाले आक्रमण जारी राखेको छ । हजारौं मानिसहरु मारिएका छन् तर बम, गोला, बारुदले क्षतविक्षत पारिएका मानव (शवहरु)शरीरहरु आजसम्म एउटा पनि कुनै टिभि च्यानलले प्रशारण गरेको छैन । गोलाबारुदले मानिसहरुका शरीर चोक्टालाम्टा परेका होलान्, हजारौं मानिसहरुका अङ्गभङ्ग भए होलान् र सडकहरु रक्तरञ्जित भएका होलान् । युद्धमा हुने कुरा त्यही हो । तर श्रव्यदृश्य सञ्चार माध्यमहरुले ती दृश्यहरु देखाउँदैनन् । सांकेतिक रुपमा सम्पादित अंश मात्रै देखाइन्छ ।
मानिस नाङो जन्मन्छ । आज पनि मानिस कपडाभित्र नाङ्गै हुन्छ । अर्थात नाङ्गो शरीर छोप्न मान्छेले कपडाको प्रयोग गर्छ । बहुरङ्गी कपडाले छोपिएको मानिसको शरीर नाङ्गै रहन्छ भन्ने कुरा सार्वभौम सत्य हो । यथार्थ हो । वस्तुसत्य हो । मानिस नाङ्गै हुन्छ भन्ने वस्तुसत्यलाई सडकमा प्रदर्शन गर्न सामाजिक नैतिकताले दिदैन ।
हो, यो दृष्टिकोणबाट मूल्याङ्कन गर्दा प्रकाश सपुतको भिडियोक्लीपले सामाजिक नैतिकताको पर्खाल भत्काएको त नभनौं उल्लङ्घन गरेको छैन भन्न मिल्दैन । बरु भिडियोमा देखाइएको दृश्यलाई शब्दमा उनेर भिडियोमा माओवादी नेतृत्वको अकर्मण्यता, भ्रष्टाचार, अनाचार र आडम्बर झल्कने दृश्य फिल्माङ्कन गरेको भए त्यसलाई वस्तुसत्य उजागर गर्ने इमान्दार प्रयत्न भन्नै पथ्र्यो । तर प्रकाश सपुतले त्यसो गर्न सक्दैनथे । किनकि उनको उद्देश्य व्यापार हो । उनको आँखामा विकाउ मालको रुपमा माओवादी छापामारको वर्दी परेको थियो । वर्दीको प्रदर्शन गीतको अनिवार्य तत्व हो ।
एकथरी पिडितहरुले भिडियोको आखिरी दृश्य अलिकता सम्पादन गरिदिए हुन्थ्यो भन्ने आसय राखेको देखियो । त्यसो गर्नुको कुनै अर्थ रहँदैनथ्यो । भिडियो सम्पादित गरिएको भए यतिखेर लाखौैं भिउअर जुटाउन सफल भएको गीत केही हजारमा सिमित हुन्थ्यो । सपुत स्वयमले आफ्नो विज्ञप्तिमा स्वीकार गरेका छन् कि कथाको विषयवस्तुलाई अघि राखेर गीत सिर्जना गरिएको हो । भिडियोविना उनको गीत मुर्कट्टा सावित हुन्छ । अर्थात छापामारको वेश्यावृत्तिमा संलग्नतालाई मालको रुपमा बजारमा पठाउँदा कुस्त कमाई हुनसक्छ भन्ने आंकलन सिर्जनाको धरातल हो । गीत सिर्जनाको प्रेरक तत्व नै त्यही हो । छापामार महिलाको यौनव्यापारको विचार दिमागमा नआएका भए गीतको सिर्जना नै हुदैनथ्यो । प्रकाश सपुतले यथार्थ वस्तुतथ्यमा आधारित राम्रो गीत सिर्जना गरेका हुन्, भिडियो क्लिप गलत प्रयोग भयो भन्ने सोचाई आफैमा गलत हो । सपुतको सिर्जनाको मूल पक्ष भिडियोमा देखाइएको दृश्य हो । शब्द संयोजन सहायक पक्ष मात्र हो ।
कुशल व्यापारीले आफूसंग स्टकमा रहेको माल कसरी प्रस्तुत वा प्रदर्शन गर्दा बजारको ध्यानाकर्षण गर्न सकिछि भनेर योजना बनाउँछ । सपुत असल व्यापारी हुन् । उनले बजारमा बेच्न तयार गरेको माल भिडियो क्लिप हो, गीत होइन । वेस्वादको वस्तु उपभोक्तालाई भिडाउन प्रस्तुत गरिएको विज्ञापनिक सिर्जना मात्र हो गीत । भिडियो विनाका गीतका शब्दहरुमा आम मानिसलाई आकर्षित गर्ने कुनै तत्व छैन । भिडियो हटाउँदाको दिन सपुतको गीत पनि बजारबाट आउट हुन्छ ।
कसैकसैले यही विषयलाई पनि उल्टो घुमाएर बुझ्ने कोसिस गरेको देखिन्छ । सपुतको गीतमा सामाजिक परिवर्तन र राज्य रुपान्तरणको श्रेय माओवादी आन्दोलनलाई दिइएको छ तर भिडियो अलिकता सम्पादन गरेका भए सुनमा सुगन्ध हुनेथियो भनेको सुनिन्छ । माथि नै भनिसकियो कि सपुतको आँखा बजारमा थिए । बजार तान्ने विषय गीत होइन, भिडियो क्लिप हो । बिक्रिवितरणको लागि तयार गरिएको वस्तु भिडियो हो, गीत अर्थात शब्द संयोजन रक्सीको विज्ञापनमा खर्चिएका सुन्दर शब्दहरु बराबर हुन् । भिडियो नजोड्ने हो भने माओवादी आन्दोलनको बारेमा त्यति सुन्दर शब्दहरु खर्चन सपुतको विवेकले अनुमति नदिन पनि सक्थ्यो । “मिठोको लोभमा जुठो चाट्नु” भनेजस्तो मात्र हो माओवादी आन्दोलनको प्रशंसामा परेका शब्दहरु ।
मानिस स्वतन्त्र छ । उसले आफूलाई मनपरेको कित्तामा उभ्याउन पाउँछ । पाउनुपर्छ । प्रकाश सपुतको चेष्टालाई त्यही रुपमा बुझ्नु राम्रो हुन्छ । व्यापार मात्र उनको लक्ष हो भने त्यो पूर्णरुपमा सफल भएको छ । बजारमा त अर्को कुरा पनि बाक्लै सुनिन्छ । सपुतको एउटै गीतले माओवादीलाई धराशायी बनायो । उनी आफै अर्को कित्ताका सर्जक हुन् । उनको उद्देश्यमा राजनीति मिसिएको छ रे ! पत्याउन त सकिदैन । तर त्यसै हो भने उनको प्रयाश पूर्णरुपमा असफल हुनेछ भन्नलाई कुनै ज्योतिषि चाहिँदैन । जहाँसम्म गीतले पु¥याउने क्षतिको कुरा हो शर्माको “लुटकान्छा” भन्ने गीतले एमालेको यतकिञ्चित नोक्सान पार्न सकेको थियो र ? त्यसैगरी यो गीत पनि असफल मानिने छ । बरु गीतले माओवादी छापामार चेलीहरुप्रति घृणा होइन, सहानुभूतिको कठैवरा भन्ने भाव सिर्जना गर्ने छ । त्यसैले पनि माओवादी केन्द्रका भातृसंगठनहरुले सकिन्छ भने धन्यवाद दिए हुन्छ । सकिदैन भने पनि सपुतलाई क्षमा दिन कञ्जुस्याई नगर्दा हुन्छ । किनकि लिने भन्दा दिने सधैं महान ठहर्छ । उनले औपचारिकरुपमा क्षमा याचना गरिसकेका छन् ।
नजानेर वा नचाहेरै पनि सपुतले खेलेको होलीले उनैको अनुहार रङ्गिएको छ । उनको चेष्टा विद्रुप नादानी हो । जहाँसम्म यथार्थ भनेर उनले पस्केको यौनव्यापारको कथा छ त्यो नेपाली समाजको सैन पल्टेको (क्रोनिक) घाउ हो । त्यसको सुरुवात नेपाल एकीकरणको नाममा महाकाली नदीवारिपारि पुगेको गोर्खाली सैनिकले लोग्नेमान्छेहरुको कत्लेआम मच्चाएर कब्जामा लिएका महिलाहरुलाई तत्कालीन अंगे्रजसत्ताको हातमा प्रतिगोटा १५० दरले बेचेदेखि भएको हो । सपुतले वास्तविक घटनामा आधारित कथा हो भनेका छन् । होला । होइन, छैन भन्न सकिदैन । तर त्यो एउटा प्रतिनिधि घटना मात्र हो । यौन व्यापारको आहालमा नेपाल चुर्लुम्म डुबेको छ । अहिलेसम्म पनि जति नेपाली छोरीचेलीहरु माओवादी आन्दोलनमा लागेका थिए त्यो भन्दा सयौगुणा बढी संख्यामा नेपाली छोरीचेलीहरु भारतीय यौनबजारमा छन् भनेर दावी गरिन्छ । अपवाद भन्न मिल्ने त्यही एउटा घटनामा किन सपुतका आँखा परे त ? यौनव्यापार नेपालीको साझा कथा हो । माओवादी वर्दीमा मात्र त्यो कथा देख्ने सपुतमा दृष्टिदोष थिएन भन्न मिल्दैन ।
जे होस् यो एउटा चियाको कपमा उठेको तुफान मात्र हो । अगेनामा बसालेको कुडेको दूधजस्तै जति चाँडो उम्लियो, त्यति नै चाँडो बिलाउने छ । प्रकाशका आँखाले नदेखे पनि उनले प्रस्तुत गरेको भिडियोक्लिपमार्फत सार्वजनिक भएको माओवादी छापामारको वर्दीभित्र नेपाली समाजले आफ्नै आमा, दिदीबहिनी, छोरी, श्रीमती, आमा गुरुआमाको प्रतिविम्व देख्नेछ । र समयक्रममा सत्य उत्घाटित हुँदाको दिन समाजमा त्यो भिडियोक्लिपप्रति घृणाभाव विकसित हुनेछ ।
प्रकाश सपुतले नितान्त पैसाको लागि अथवा अरु कुनै गुढ अभिष्ट राखेर गीत सिर्जना गरे । नेपाली समाजमा गीतको विषयवस्तुभन्दा पनि बढी समर्थन उनको सिर्जना स्वतन्त्रताको पक्षमा देखियो । त्यति धेरे जनसमर्थन पाउने गीत खोटी हुनुसक्छ त भन्ने प्रश्न अवश्य उठाइने छ । बिर्सन नमिल्ने कुरा के हो भने भिड विवेकबाट निर्देशित हुदैन । पक्षमा उर्लिएको समर्थन नेपाली मनोविज्ञान हो । त्यस्तो मनोविज्ञान विकासको कारण के हो त ?
भिडले माओवादीको वर्दीभित्र छिपेको शरीर माओवादी मात्र होइन, आम नेपाली आमा दिदीबहिनीको प्रतिनिधि पनि हो भन्ने कुराको ख्याल गरेन । वर्दीमा छिपेको महिला शरीर बजारको वस्तु मात्र होइन, आफ्नै आमा, दिदीबहिनी छोरीहरुको पनि हुनसक्छ । वर्दी जस्ले पनि लगाउन सक्छ । त्यसैले गीतको माध्यमबाट गर्न खोजिएको वदनामी वर्दीको मात्र होइन, सिङ्गो महिलासंसारको हो । तर भिडले वर्दीभित्र माओवादी छापामारलाई मात्र देख्यो । वर्दीभित्र आमा छिन्, छोरी छिन्, बहिनी छिन् भन्ने कुरा बिस्र्यो र क्या वात सपुत भनेर ताली ठोक्यो ।
समर्थनको दोश्रो कारण माओवादी पार्टीप्रतिको वितृष्णा पनि हो । सपुतको सिर्जनासिपभन्दा त्यसले गर्न खोजेको माओवादीको मानमर्दन मन पराएको हो । यस घटनाले माओवादी नेतृत्वलाई जनताको नजरमा आफ्नो मूल्याङ्कन पढ्ने अवसर दिनेछ ।
तेश्रो कारण भनेको वेश्यावृत्तिलाई अपमानजनक वा असामाजिक वृत्ति नमान्ने हिन्दू मानसिकता पनि हो । हिन्दू धर्मको सुरुवात नै वेश्यावृत्तिको महिमा मण्डनबाट हुन्छ । हिन्दू धर्मग्रन्थहरुले देवलोकको कल्पना गरेका छन् र देवलो्कमा अप्सराहरु रहन्छन् भनेर मानेका छन् । अप्सरा वास्तवमा देवताहरुका मनोरञ्जनका वस्तु मात्र हुन । नगरवधुको नाम सगौरव लिने अनेक कथाप्रसंगहरुले धर्मग्रन्थहरु भरिएका छन् । त्यसैले हिन्दू मानसिकतामा नेपाली समाजमा जस्तो ”वेश्या” गालीको शब्द मानिदैन । नेपाली समाज हिन्दू धर्मसंस्कृतिबाट अचाक्लीसंग प्रभावित समाज हो भन्नु बढ्ता हुदैन ।-जनधारणा साप्ताहिकबाट

















