नतिजा फेरबदल गरेको अभियोगमा ६ जना विरुद्ध मुद्दा

224

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुव विश्वविद्यालय सेवा आयोगले पदपूर्ति गर्दा योग्य उम्मेद्वारलाई पन्छाउन नतिजा फेरबदल गरेको अभियोगमा ६ जना विरुद्ध मुद्दा दर्ता गरेको छ।

आयोगले मंगलबार तत्कालीन सेवा आयोगको कार्यालय प्रमुख प्राडा टेकनाथ ढकाल, सहप्राध्यापक र तत्कालीन प्रशासन प्रमुखसमेत ६ जना विरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो।

आयोगले गरेको अनुसन्धानबाट उनीहरुले गलत मनसायका साथ केरमेट गरी जम्मा प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको, उक्त गलत कार्यलाई सम्परीक्षकले सदर गरेको र रुजु गर्ने व्यक्तिले समेत रुजु गरी सच्याउनु पर्नेमा नगरी लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गरेको पाइएको जनाएको छ।

२०७३ फागुन १८ गते प्रकाशित विज्ञापन नं, १८।०७३।०७४ सँग सम्बन्धित उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको लिखित परीक्षामा अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मेदवारहरुलाई पाखा लगाइएको दाबी आयोगले विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख गरेको छ।

गैर कानुन काममा लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, लेखा सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपानेको संलग्नता थियो।

त्यस्तै पुस्तकालय सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सहप्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका सम्परीक्षण गर्ने प्राडा टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगको कार्यालय, त्रि.विका तत्कालीन प्रमुख परशुराम कोइराला र तत्कालिन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेले गैरकानूनी काम गरेको दाबी गरिएको छ।

अख्तियारले उनीहरुसँग तीन महिनादेखि एक बर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवाना गर्नुपर्ने माग दाबी गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here