पत्रकार केसीमाथि खुकुरी प्रहार गर्नेलाई थुनामा पठाएको भन्दै खुशी व्यक्त

102

काठमाडौं । अनलाइन टेलिभिजन पत्रकार संघले पत्रकार कुश्लभ केसीमाथि भएको आक्रमणको घट्नामा दोषीलाई पुर्पक्षका लागि थुनामा पठाईएको भन्दै खुशी व्यक्त गरेको छ । शनिबाररिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले समाचार संकलनको क्रममा पत्रकार केसीमाथि खुकुरी प्रहार भएको घट्नामा अहिले अदालतले दोषीलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको भन्दै खुशी व्यक्त गरेको हो ।
कृष्ण सुनुवार र विष्णुकुमार कार्कीबीच भएको आपसी लेनदेनको विषयलाई लिएर झगडा भइरहेको अवस्थामा रिपोर्टिङ गर्न पुगेका पत्रकार केसीमाथि विष्णुकुमार कार्कीले अचानक खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार भएको ६ महिनापछि उनलाई भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको संघले जानकारी दिएको छ । यसबाट थोरै भएपनि न्याय मिलेको आफूलाई महसुस भएको पीडित पत्रकार केसीले बताए ।
उनले संघले अनलाइन पत्रकारलाई परेको पीडामा साथ दिएको भन्दै त्यसको लागि आभार र धन्यवाद व्यक्त गरे ।साथै, उनले नेपालमा युट्युब पत्रकारहरु पीडित व्यक्तिहरुको आशाको केन्द्र बनेको पनि दाबी गरे ।
पत्रकारहरुलाई अनावश्यक रुपमा फसाउने खोेज्ने क्रम बढेको भन्दै सबै पत्रकार एकजुट भएर लड्नुपर्ने अवस्था आएको पनि उनले बताए ।
कार्यक्रममा बोल्दै अनलाइन टेलिभिजन पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले ‘अनलाइन टेलिभिजन’ पत्रकारिता जगतको पाँचौ पुस्ता भएको भन्दै सबै पत्रकार आफ्नो पेशाप्रति ईमानदार र जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए ।
भण्डारीले पत्रकार केसीको घट्नामा दोषीमाथि (पूर्पक्षका लागि थुनामा पठाउने) कारबाही भएको उल्लेख गर्दै यसलाई पहिलो सफलताको रुपमा चित्रण गरे । युट्युब पत्रकारिता नेपाली पत्रकारिता क्षेत्रमा स्थापित भैसकेको पनि उनको भनाई थियो ।
उनले अनलाइन पत्रकारहरु अब शुद्धिकरण र सुदृढीकरणको नारालाई लिएर अघि बढ्नुपर्ने बताए । पत्रकारले आफ्नो अधिकारसँगै दायित्वपनि निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।
उनले पत्रकारको अधिकारलाई कुण्ठित बनाउने काम भैरहेको भन्दै आफूहरुलाई यस्तो कुरा स्विकार्य नहुने पनि चेतावनी दिए । उनले प्रेस स्वतन्त्रता र इन्टरनेट माध्यमको विशाल अवसरलाई दुरुपयोग गर्नेहरु पनि बढेको भन्दै अनलाइन पत्रकारहरु त्यसबाट बच्नुपर्ने धारणा राखे ।
अधिवक्ता यज्ञमणी न्यौपानेले अझैपनि प्रेस स्वतन्त्रताको ग्यारेन्टीको लागि लड्नुपर्ने अवस्था हुनु भनेको दुःखद् अवस्था भएको टिप्पणी गरे । उनले २०४७ सालको संविधानले समेत पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र त्यसपछि लोकतन्त्रको पूर्ण रुपमा कार्यान्वयन भएको छ भनेर दुहाई दिइरहँदा अझैपनि प्रेस स्वतन्त्रताका लागि लड्नुपर्ने कारणका पछाडी गणतन्त्र कार्यान्वयन भएको छैन् भन्ने कुरा महसुस भएको बताए ।
यस्तै, उनले नेपालका मुलधारका मिडियाले अनलाइन मिडियालाई अघि बढ्न नदिने काम गरेको पनि गुनासो पोखे । उनले पत्रकारले पाएका सुचनाहरु सम्प्रेषित गर्ने अधिकारलाई कुण्ठित हुन नदिन पत्रकारहरु एकजुट हुनुपर्ने बताए । साथै, नेपालको युट्युव पत्रकारितालाई अझै सशक्त र मजबुद बनाउनुपर्ने उनको धारणा थियो ।
अधिवक्ता आर.सी. गौतमले पत्रकार केसीको मुद्दामा अनुसन्धानको पाटोमा राज्यको कमजोरी भएको आरोप लगाए । पीडितको पक्षमा रिपोर्टिङ गर्न गएका पत्रकारमाथि भएको आक्रमण दुःखदायी रहेको बताए ।
पत्रकार विश्व लिम्बुले युट्युवरमाथि पछिल्लो समय बिभिन्न प्रकारले आक्रमण भइरहेको भन्दै दुःख व्यक्त गरे । उनले पल शाहको मुद्दामा युट्युवरहरुमाथि मुद्दा लगाउने तयारी भइरहेको सुनेको उल्लेख गर्दै आफुहरुले सम्मानीत अदालतको न्याय सम्पादन प्रक्रियामा कुनै पनि प्रकारले प्रभाव नपर्ने तरिकाले बोलिरहेको दाबी गरे ।
कतिपय अवस्थामा त्रुटि हुनसक्ने भन्दै त्यसलाई सच्याउन अनलाइन पत्रकारहरु तयार हुनपर्ने पनि उनले बताए । उनले पत्रकारलाई नियमन गर्ने निकाय प्रेस काउन्सिल रहेको भन्दै पत्रकारलाई साइबर मुद्दा लगाएर जेल हान्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षप भएको टिप्पणी गरे ।
‘सिधै साइबर क्राइममा गएर पत्रकारलाई हत्कडी लगाउने काम गरे प्रेस स्वतन्त्रतामाथित धावा बोलेको हुनेछ’–उनले भने । उनले नेपाली मिडियालाई युट्युब मिडियाजस्तो नयाँ मिडियाले नयाँ उचाइमा पुर्याएको पनि दाबी गरे ।
अधिवक्ता विनोद फँयालले केसीमाथि भएको आक्रमणको घट्नाबारे विस्तृत जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here