हेटौंडामा आचारसंहिता उल्लङ्घन गरेको लिखत उजुरी परेपछि १० जना विरूद्व कारबाही सुरु

132

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जारी आचारसंहिता विपरीत काम गर्ने १० जनामाथि मकवानपुरमा कारबाही प्रक्रिया अगाडि बढाएको छ। हेटौंडाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको लिखत उजुरी परेपछि कारबाही सुरु गरिएकोे जनाइएको छ।

निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचारप्रसार गर्नेमा निजामती कर्मचारी, शिक्षक, सांसद र मन्त्रीसमेत रहेको बताइएको छ। आचारसंहिता विपरीत जानेलाई लिखितरुपमा स्पष्टीकरण माग गरिएको  मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी सागर शर्माले जनाए।

हेटौँडाका विभिन्न क्षेत्रका कर्मचारी तथा सार्वजनिक पद धारण गर्ने सांसद र मत्रीले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको र सामाजिक सञ्जालमा भोट माग्ने प्रचार गरेको देखिएको उजुरी परेकाले उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको उनले जनाए ।

उनीहरुको जवाफ प्राप्त भएपछि जिल्ला निर्वाचन अनुगमन समितिमा कारबाहीका लागि पठाइने उनले जानकारी दिए। आचारसंहिता विपरीत काम गर्ने कर्मचारीलाई निर्वाचनमा नखटाइने उनले बताए। यसै सम्बन्धमा निर्वाचन आचारसंहिता पालना गर्नका लागि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको आह्वानमा सोमबार सर्वपक्षीय बैठकसमेत बसेको थियो।

बैठकमा सहभागी सबै दलका प्रतिनिधिले आचारसंहिता पूर्णरुपले पालना गर्ने प्रतिबद्धता जनाएका थिए। शिक्षक तथा कर्मचारी र सार्वजनिक पद धारण गर्ने व्यक्तिले आचारसंहिताको बेवास्ता गरेको र मतदातालाई प्रभावित पार्ने काम गरेकाले प्रमाणका आधारमा कारबाही गरिने उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here