रोल्पा । रोल्पामा स्थानीय तहको निर्वाचन सुरक्षाका लागि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी गरेको जनाएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएका कारण सुरक्षामा कुनै समस्या नहुने सुरक्षा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।
निर्वाचन सुरक्षाका लागि वैशाख २ देखि नै सुरक्षा निकाय परिचालन भएको उनले बताए। जिल्लामा पछिल्ला दिनमा राजनीतिक दलको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण सुरक्षा चुनौती भने थपिएकोे बताएको छ। रोल्पामा ७१ हजार ९३४ पुरुष र ७३ हजार ५१० महिला गरेर एक लाख ४५ हजार ४४४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी धृताकुमारी खत्रीले जानकारी दिइन् । जिल्लामा पुरुष मतदाताभन्दा एक हजार ५७६ महिला मतदाता बढी छन्।
जिल्लामा चुनावी प्रचार–प्रसारमा समेत महिलाको सङ्ख्या बढी देखिएका कारण मतदानमा समेत यसको प्रभाव पर्न सक्ने बताइन्छ। रोल्पामा स्वतन्त्रसहित एक हजार १३० उम्मेदवार चुनावी मैदानमा छन्। जिल्लाका केही मतदान केन्द्रलाई मात्र संवेदनशील भनिएकामा पछिल्ला दिनमा राजनीतिक दलमा देखिएको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण जिल्लाका सबै मतदान केन्द्र संवेदनशील रहेको बताइएको छ। रासस


















