काठमाडौं । आज मंगलबारदेखि संसदमा बजेट छलफल सुरु हुने भएको छ । आज अपरान्ह ४ बजे बस्ने संसद बैठकले आगामी वर्ष २०७९-८० को बजेटमाथि छलफल सुरु गर्ने भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ४ बजे संसद अधिवेशन डाकेपछि बजेट छलफल हुनेछ ।
अर्थमन्त्रालय गत वैशाख २० गते विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकताहरु संसदको दुवै सदनमा प्रस्तुत गर्ने योजना बनाएपनि संसद आह्वान नहुँदा बजेटमाथिको छलफल प्रभावित भएको थियो ।
स्थानीय तहको निर्वाचन कारण संसद आह्वानमा बिलम्ब भएको थियो । त्यसैले बजेटमाथि प्रशस्त मात्रामा छलफल हुन पाएको थिएन ।
चुनाव सकिएसँगै बजेटमाथि छलफल हुने भएको हो । सरकारले हरेक वर्षको जेठ १५ मा मुलुकको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
अर्थमन्त्रीले बजेट प्रश्तुत गर्न अब १२ दिन मात्रै बाँकी छ । गत वर्ष केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फ बजेट ल्याएका थिए भने
शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले सो बजेटका केही बुँदाहरु परिमार्जन गरी प्रतिस्थापन विधेयकमार्फत बजेट सार्वजनिक गरेका थिए ।


















