काठमाडाैं । कीर्तिपुरमा एक जना युवकको हत्या भएको छ।
आइतबार अपरान्हमा कीर्तिपुर नगरपालिका ढल्पाको सडकमा एक युवकको हत्या भएको प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले जानकारी गराए । कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ समेत गरिसकेको छ।
उदयपुर घर भई कीर्तिपुरको मच्छेगाउँ बस्ने २९ वर्षीय अरूण खत्रीको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले कीर्तिपुर नगरपालिका-३ बस्ने २६ वर्षीय अजय नापित र वडा नम्बर-१० बस्ने २२ वर्षीय सन्तोष महर्जनलाई पक्राउ गरेको छ। अपरान्ह ४ बजेतिर दुई युवक महर्जन र नापितले खत्रीमाथि कुटपिट गरिरहेको भन्ने प्रहरीलाई खबर आएको थियो।
सो खबरपछि प्रहरीको टोली घटनास्थल पुगेर घाइते खत्रीलाई नजिकैको कीर्तिपुर अस्पताल पुर्याएको थियो। अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ। घटनास्थलबाटै प्रहरीले आरोपित दुई जनालाई पनि नियन्त्रणमा लिएको थियो । ‘साथीहरू नै थिए। दुई जना साथीहरूले एक जनामाथि कुटपिट गरेका थिए। उपचारको क्रममा उनको मृत्यु भयो,’ पाण्डेले जनाए ।
घटना हुनुको कारण भने लागुऔषध रहेको उनले बताए। मृतक आफैंले पनि लागुऔषधको प्रयोग गर्ने गरेको र आरोपित व्यक्तिहरूले पनि प्रयोग गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले जनाए । प्रहरीले मृतकबाट १६० एम्पुल लागुऔषध पनि बरामद गरेको छ। दुई युवकले त्यही लागुऔषध लुट्ने क्रममा कुटपिट गरी हत्या गरेको हुनुपर्ने प्रहरी जनाउँछ।
‘मृतक युवकले लागुऔषध बेच्न वा केही गर्न ल्याएको देखिन्छ। उनीहरू सबैले प्रयोग गर्ने गरेकोजस्तो देखिन्छ,’ उनले भने,‘लागुऔषध नदिएपछि त्यही लुट्ने क्रममा कुटपिट भएको देखिन्छ।’ प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाइसकेको छ। कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भइसकेको र बुधबार म्याद थप गर्ने प्रहरीको तयारी छ। शवको पोष्टमर्टमको ललितपुरस्थित पाटन अस्पतालमा गर्ने तयारी छ।


















