कीर्तिपुरको मौलिक काष्ठकला र सीपको संरक्षणमा जोड

142

काठमाडौं । कीर्तिपुरमा उद्योग व्यवसाय विस्तारमा सहकार्य गरेर अगाडि बढ्ने महत्त्वपूर्ण समझदारी भएको छ । कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा मंगलबार उद्योगपति, व्यापारी र नवर्निवाचित स्थानीय निकायका पदाधिकारीबीच भएको शुभकामना तथा साक्षात्कार कार्यक्रममा यस्तो समझदारी भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं उद्योगपति शेखर गोल्छाले स्थानीय निकायसँग सहकार्य गरेर कीर्तिपुरमा उद्योग स्थापना गर्न आफूहरू तयार रहेको जनाए । लगानीमैत्री वातावरण निर्माणमा राज्यका अंगहरूको महत्त्वपूर्ण भूमिका रहने जनाउँदै अध्यक्ष गोल्छाले त्यसकालाई स्थानीय सरकार लगानी भित्र्याउन सक्रिय बन्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र सांघाईले स्थानीय निकायले करको दर बढाउने होइन दायरा बढाएर कर तिर्न कर होइन रहर लाग्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले कीर्तिपुरमा उद्योग व्यवसाय स्थापना र विकासमा आफू इच्छुक रहेको समेत जनाए ।

उद्योगी व्यापारीहरूको कुरा सुनेपछि कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले उत्साही हुँदै, उद्योगपतिहरूसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको जनाए । कीर्तिपुरमा औद्योगिक ग्राम स्थापना, स्थानीय उत्पादन, सीपमा आधारित उद्योगहरूलाई प्राथमितामा राखेर काम गर्न तयार रहेको बताउँदै, उद्योगीहरूसँग हातेमालो गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कीर्तिपुर उद्योग वाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्यले कीर्तिपुरको उत्थान र विकासका लागि स्थानीय निकाय र राष्ट्रिय स्तरका उद्योगी व्यापारीहरूबीच समन्वयकारी भूमिका खेल्दै समृद्ध कीर्तिपुर निमार्णका लागि आफू सधैं तयार रहको  जनाइन् ।

कार्यक्रममा अर्थविद् नूरसागर श्रेष्ठले, कीर्तिपुरको मौलिक काष्ठकला र सीपको संरक्षण गर्दै, स्थानीय संस्कृतिमा आधारित उद्योग व्यवसायलाई बढावा दिनुपर्नेमा जोड दिए ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका नगर जिल्ला उपाध्यक्ष, दिनेश श्रेष्ठ, केन्द्रीय सदस्य हेमराज ढकाल, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, कीर्तिपुर महिला सन्जालकी अध्यक्ष हसना महर्जन, कीर्तिपुर नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्यलगायतले उद्योग व्यवसाय एवं उद्यमशीलता विकासका लागि स्थानीय सरकार र उद्योगी व्यवसायीबीचको सहकार्यमा जोड दिएका थिए ।

कार्यक्रममा कीर्तिपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशका पदाधिकारीहरू, विभिन्न महिला उद्यमी समूहहरू, स्थानीय निकायका जनप्रतिनिधिको उल्लेख्य सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here