पर्यटकीय गन्तव्य बन्दै पाल्पा भैरवस्थान

73

तानसेन । शक्तिपीठ मात्र होइन तानसेनको भैरवस्थान अहिले आन्तरिक र बाह्य पर्यटकको राम्रो गन्तब्य बनेको छ । ब्यस्त र तनावमा रहेका स्थानीयलाई समेत मन बहलाउने राम्रो स्थान भएको छ  यस मन्दिर । प्राकृतिक दृश्य अवलोकनका लागि आउने पर्यटकलाई भैरवस्थान मन्दिरले थप आकर्षण गर्ने गरेको छ ।

पाल्ला तानसेनको रिब्दिकोट गाउँपालिकामा रहेको यस मन्दिरमा पाल्पाबाट झर्ने र रुपन्देहीबाट निस्कने आन्तररिक पर्यटकको दैनिक भीड लाग्ने गरेको छ । त्यतिमात्र होइन गुल्मी, अर्घाखाँची लगायतका स्थानबाट आउने तीर्थालु, नव जोडी, प्रेमीप्रेमिकाको डेटिङ स्थल देखि केटाकेटी खेल्न र फिल्म सुटिड गर्नेको भीडभाड पनि उत्तिकै देखिन्छ ।

भैरवस्थानमा गएर माया नसाटेका यस क्षेत्रका प्रेमी प्रमिका त सायदै होलान् । दिनहुँ विहे, वर्तवन्ध, वनभोज गर्नेको जमात पनि यहाँ ठूलो देखिन्छ । बिहान साँझ व्यायाम गर्न र चिसो पानीमा नुहाउन जानेको पनि ठूलै लर्को हुन्छ । शहरको कोलाहलबाट केही समय मुक्त बन्न यहाँ सबै उमेर समूहका मान्छे भेटिने स्थानीय प्रदीप आचार्यले बताउनुभयो ।

तानसेन बजारबाट १० किलोमिटरमा पर्ने भैरवस्थान मन्दिर रिब्दिकोट गाउँपालिका ४ मा पर्दछ । भैरवस्थान पर्यटकीय क्षेत्र मात्र होइन पवित्र तीर्थस्थल पनि हो । एसियाकै सबैभन्दा  ठूलो त्रिशूल राखिएको याे मन्दिर १६औं शताव्दी शताब्दीमा पाल्पाली राजा मणिमुकुन्द सेनले स्थापना गर्नुभएको हो ।

यहाँ एक पटक दर्शन गरेमा पाप पखालिने धार्मिक विश्वास छ । यही विश्वासका साथ नेपालसँगै भारतका हिन्दु धर्मावलम्वी  यहाँं आउने गर्छन् । मन्दिरमा शिवरात्री, एकादशी र वैशाख महिनाको प्रत्येक शनिबार भीड लाग्छ ।

सोमबार र शनिबार पूजा गर्ने दर्शनार्थीको पनि भीड लाग्छ । यो क्षेत्रका वासिन्दाले नया सवारीको साधन किन्दा यहाँ पूजा नगरी चलाउँदैनन् । मन्दिरमा भगवती माइको मूर्ति स्थापना गरिएको छ । यहाँ एक माना र पाथीका रोट बनाएर भैरवनाथ बाबा र माइलाई चढाउने प्रचलन पनि छ । कुखुरा, बोका, पाडो हाँसको बलि दिएर पञ्चेबाजासहित पञ्चबलि दिने प्रचलन पनि छ ।

भैरवस्थानमा  विभिन्न रुपका छुट्टाछुट्टै मनमोहक मन्दिर पनि छन् । यहाँ भैरव वावाको विशेष पूजा गरिन्छ  । कालो र डर लाग्ने भएकाले भैरवको मूर्ति सर्वसाधरणले हेर्न पाउँदैनन् भने पुजारीले पनि मूर्ति नहेरी पूजा गर्ने गर्दछन् ।

पूजा गर्न दुई वटा मन्दिर र शीतल ताप्न शीतलपाटी बनाइएको छ । भैरवस्थानमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण गर्न मन्दिरहरुको स्तरोन्नति र पूर्वाधार निर्माणमा मुख्य चासो दिइएको रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो ।

भैरवस्थानलाई साँच्चिकै शीतल र मनोरम क्षेत्र बनाउन यस आसपासको खाली ठाउँमा रिसोर्ट बनाइएको मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तुलबहादुर अधिकारीले बताउनुभयो । रिसोर्टभित्र विभिन्न किसिमका फूलहरु लालीगुराँस  रोपिएका छन् । नजिक हरियाली वन भएका कारण वनमा विभिन्न खालका चराचुरुङ्गी पनि छन् । अधिकारीका अनुसार यसअघि जीर्ण बन्दै गएको मन्दिरलाई २०७८ चैत मसान्तमा दुई करोड ६४ लाख खर्च गरेर बनाइएको छ । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here