डिजिटल कारोबारको अध्ययन लेखापरीक्षकबाट हुनुपर्छ : अर्थमन्त्री

57

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखापरीक्षकबाट हुनुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाल चार्टड एकाउण्टेन्ट्स सङ्घ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले डिजिटल कारोबार बढ्दै जाँदा अर्थतन्त्रमा समस्या देखिएकाले डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकले गर्नुपर्ने बताउनुभएको हो ।

अडिटर नै डिजिटल कारोबारको विज्ञ भएको पनि उहाँले बताउनुभयो । मन्त्री शर्माले नेपालमा डिजिटल कारोबार क्रिप्टोकरेन्सीलगायत अन्य धेरै कारोबार भइरहेको बताउनुभयो । उहाँले डिजिटल रुपमा कारोबार हुने सबै कारोबारको अध्ययन गर्न आवश्यक रहेको प्रष्ट पार्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘‘अर्थतन्त्रमा समस्या धेरै छन् । अहिले नयाँ डिजिटल प्रविधिबाट कारोबार भइरहेका छन् । ती कारोबारको बारेमा अध्ययन गर्ने कसले हो ? यहाँहरु नै विज्ञ हुनुहुन्छ । यहाँहरुले नै अध्ययन गर्नुपर्छ ।” अहिलेको युग नै डिजिटलमा गैरहेको उहाँले बताउनुभयो । क्रिप्टोलगायतका तमाम कारोबार भइरहेको उहाँले बताउनुभयो । यी सबै कारोबारको अध्ययन कसरी गर्ने, नेपालको अर्थतन्त्रमा कहाँ समस्या छ कसले अध्ययन गर्ने ?”

मन्त्री शर्माले लेखापरीक्षणमा नै समस्या रहेकाले सरकारको ठूलो रकममा बेरुजु बढ्दै गएको बताउनुभयो । लेखा परीक्षणमा समस्या हुँदा एकपछि अर्को बेरुजु थुप्रिँदै गएको दाबी उहाँले गर्नुभयो । मन्त्री शर्माले विभिन्न निकायले लेखा परीक्षण समयमा नगर्दा राज्यले बेरुजुको भार बोक्नुपरेको बताउनुभयो । सरकारलाई वर्षैपिच्छे बेरुजु भार पर्दैजानुमा लेखा परीक्षणलाई तोकिएको विधि मान्यता र समयमा भुक्तानी गरेर अडिट गरेर प्रमाणित नगर्नु नै प्रमुख कारण रहेको  उहाँकाे जिकिर छ ।

अर्थमन्त्री शर्माले आर्थिक सुशासन, जवाफदेहिता र पारदर्शिता बनाउनु राष्ट्रिय चुनौतीको विषय भएको बताउनुभयो । आर्थिक सुशासन, जवाफदेहिता र पारदर्शितालाई स्वार्थ अनकूल व्याख्या, परिभाषा गर्नेखालको प्रवृति हाबी हुँदै गएको मन्त्री शर्माले बताउनुभयो ।

त्यस्तै महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालले अनलाइन प्रविधिबाट अडिटमा समस्या रहेको बताउनुभयो । वर्षदेखि सरकारका सबै अडिट अनलाइन प्रणालीबाट नै गरिएकाले कर्मचारीमा नयाँ प्रविधिको ज्ञान अभावका कारण समस्या देखिएको उहाँको भनाइ छ । अनलाइन प्रणालीबाट लेखा परीक्षणको काम गर्दा सजिलो र छिटो हुने तर कर्मचारी सबैमा प्रविधिको जानकारी नहुँदा समस्या हुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here