देशभक्तिको आवरणमा जेलेन्स्कीले अपनाएको सर्बनासको बाटो !

56

-प्रीति रमण

युक्रेनको अवस्था अत्यन्त कहाली लाग्दो भैरहेको छ । पछिल्लो समयको घटनाले युक्रेनका राष्ट्रपति बोलोदिमिर जेलेन्स्की निकै देशभक्त र जनप्रेमी नेता रहेछन् भन्ने सन्देश दिने गरी युक्रेनको युद्धग्रस्त दक्षिणी क्षेत्रमा सेनाको प्रगति सुस्त भएपछि राष्ट्रपति जेलेन्स्कीले भ्रमण गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले त्यहाँका सहरहरूको पहिलो पटक भ्रमण गरेका छन्। रुसी घेराबन्दीमा रहेको माइकोलाइभ सहरको भ्रमण गर्दै उनले क्षतिग्रस्त भवनहरूको निरीक्षण गरेको दृश्य सार्वजनिक गरिएको छ । जेलेन्स्कीले युक्रेनी  सैनिक, युक्रेनी सरकारी अधिकारी र युक्रेनकै स्वास्थ्यकर्मीहरुलाई भेटेको दृश्य देखाईएको छ । राष्ट्रपति जेलेन्स्कीलाई निकै देशभक्त नेताको रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनस्थित ओडेसाको पश्चिमी सहरको भग्नावशेष भैसकेको भाग पनि भ्रमण गरेका छन् । जुन युद्ध सुरु भएदेखि नियमित रूपमा रुसी आक्रमणमा परिरहेको थियो ।

ब्ल्याक सीको तटलाई कब्जा गर्ने रुसी प्रयासमा यी दुवै सहरहरू निसानामा परेका छन्। मस्कोले पूर्वी डोन्बास क्षेत्र कब्जा गर्ने प्रयासमा केन्द्रित रहने निर्णय गरेपछि जेलेन्स्कीले किएभमा नियमित रूपमा अन्तर्राष्ट्रिय नेताहरूसँग भेट गरेका छन्।तर पनि जेलेन्स्कीको रुस बिरुद्धको आक्रोश मत्थर हुन सकेको छैन । पछिल्ला साताहरूमा उनले पूर्वका खार्किभलगायत लडाइँ भइरहेका क्षेत्रहरूको समेत भ्रमण गरेका छन्।

भ्रमणका क्रममा जेलेन्स्कीले युक्रेनी सैनिकहरुलाई ‘जीवित रहनु महत्त्वपूर्ण छ। जबसम्म तपाईँ बाँच्नु हुन्छ तबसम्म एउटा बलियो युक्रेनी पर्खाल रहन्छ जसले देशको रक्षा गर्छ,’ भनेका छन् । ‘म युक्रेनका जनता र हाम्रो राज्यको तर्फबाट तपाईँले गरिरहनुभएको महान् काम र उत्कृष्ट सेवाको लागि धन्यवाद दिन चाहन्छु।’ माइकोलाइभमा जेलेन्स्कीले सैनिकहरूलाई पदक दिए र उनीहरूलाई युक्रेनको हेरचाह गर्न आग्रह गर्दै भने ‘र आफ्नो ख्याल राख्नुहोस्। यो काम तपाईँ मात्र गर्न सक्नुहुन्छ।’ जेलेन्स्कीको नेटो सदस्य बन्ने लहडका कारण युक्रेनको अवस्था भयावह बनेको छ ।लामो समयदेखि रुसी सेनाको प्रमुख लक्ष्य बनेको छ र त्यहाँ बेलाबेला आक्रमण भइरहेको यो सहर युद्धको सुरुवातदेखि रुसले ओगटेको सहर खेरसनबाट १०० किलोमिटर उत्तर(पश्चिममा अवस्थित छ।

गत साताको सुरुमा माइकोलाइभका गभर्नर भिटालिइ किमले सहरमा किएभको प्रतिरक्षा प्रणाली सुस्त बनाउनका निम्ति रुसी सेनाले खेरसन नजिकको पुल ध्वस्त पार्न लागेको दाबी गरेका थिए। स्थानीय अधिकारीहरूले युक्रेन लामो दूरीको अस्त्रहरूमा निर्भर रहेको जनाए । जुन पश्चिमा राष्ट्रहरूले समयमै उपलब्ध गराउने आश्वासन दिएका थिए । बेलायतको रक्षा मन्त्रालयले गत शनिवार रुसले डोनेट्स्क क्षेत्रमा अगाडि बढ्ने प्रयास गरिरहेको दाबी गरेको थियो, यो क्षेत्र लुहान्स्कसँगै डोन्बासको भूभागमा पर्छ।

युक्रेनी सेनाले सेभेरोडोनेट्स्कको वरपर कारबाही जारी राख्दै लुहान्स्कस्थित सिरोटाइन र डोनेट्स्कस्थित क्रास्नोपिल्यामा ‘रुसी आक्रमण’ रोकेको जनाएको छ। ‘ यही मौका छोपेर जेलेन्स्कीले त्यो क्षेत्रको भ्रमण गरेर आफ्ना सेनाको मनोबल बढाउन खोजेको प्रष्टै बुझ्न सकिन्छ ।

युक्रेनभित्रै रुससमर्थितहरुको संख्या पनि बृद्धि भैरहेको छ ।जेलेन्स्की प्रशासनसँग बिद्रोह गरिरहेका  पृथकतावादीहरूद्वारा नियन्त्रित डोनेट्स्क सहरमा युक्रेनी अधिकारीहरूको बमबारीबाट जारी छ । पछिल्लो समय युक्रेनी बमबारीबाट युक्रेनकै बिद्रोहीहरु मारिएका छन् । युक्रेनी सैनिक आक्रमणबाट पाँच सर्वसाधारण मारिएका र १२ जना युक्रेनीहरु घाइते भएको दाबी गरिएको छ ।

यसैबीच युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का सचिवले हरेक दिन ५०० हाराहारीमा सैनिकहरू मरिरहेको भन्ने युक्रेनकै सरकारी अधिकारीहरूको विवरण नै अस्वीकार गरेका छन्।ओलेक्सिइ डानिलोभले सरकारी अधिकारीहरूसँग सान्दर्भिक जानकारी नभएको दाबी गरेका छन् । यसअघि युक्रेनी अधिकारीहरूले एक दिनमा १०० जनाको मृत्यु भइरहेको जनाएका थिए। यसबाटै स्पष्ट हुन्छ कि युक्रेनमा भैरहेका रुसी आक्रमणबाट भएको क्षतिको बिवरण बिश्वसनीय छैन ।

किएभमा मेयर भिटाली क्लित्सकोले बीबीसीसँग आफ्नो देशले ‘अन्तिम रुसी सैनिकले युक्रेन छोडेपछि’ मात्रै शान्तिवार्तामा प्रवेश गर्ने जनाएको बीबीसीले जनाएको छ।उनले रुसी जनताले अन्ततः आफ्ना सेनाहरूले राष्ट्रपति भ्लादिमिर पुटिनको महत्त्वाकाङ्क्षाका निम्ति ज्यान गुमाएको महसुस गर्ने जनाएका छन् ।

गत शुक्रवार किएभ भ्रमणबाट फर्किएका ब्रिटिशका प्रधानमन्त्री बोरिस जनसनले अब युक्रेन थाक्ने चेतावनी दिंदै सहयोगी राष्ट्रहरूले रुसविरुद्धको युद्धमा युक्रेनलाई लामो समयसम्म साथ दिनु पर्नेमा जोड दिएका थिए । यो अवस्थाले पनि युक्रेनको भबिष्य अझै बिनासको बाटोतर्फ नै अग्रसर रहेको प्रष्ट हुन्छ

गत फेब्रुअरी २४ मा रुसले सुरु गरेको आक्रमणका कारण साढे चार हजार गैरसैनिक मानिस मारिएको र साढे पाँच हजारभन्दा बढी मानिस घाइते भएको संयुक्त राष्ट्रसँघको तथ्याङ्क छ। त्यस्तै १३ लाखभन्दा बढी मानिस पलायन भएको पनि राष्ट्रसंघको दाबी छ। यो अवस्थाको सृजना हुनुमा राष्ट्रपति जेलेन्स्कीको देशभक्ति भावना जिम्मेवार छ वा उन्को बैदेशिक दलाली जिम्मेवार छ भन्ने कुरा नै महत्वपूर्ण पक्ष हो । जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here