प्रचण्डद्वारा सबै माओवादी एकीकृत हुन आउन आह्वान

58

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  सबै पूर्वमाओवादीहरुलाई एकतामा आउन अपिल गरेका छन्।

बुधबार पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशलाई वैज्ञानिक समाजवादको दिशामा लैजान सबै माओवादी केन्द्रीकृत र एकीकृत हुनुपर्ने बताउँदै एकतामा आउन आह्वान गरेका हुन्।

‘देशको राष्ट्रिय स्वाधिनताका लागि, जनयुद्ध, जनआन्दोलन र त्यसमा लाखौं योद्धाहरुको त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धी हासिल गर्न माओवादी धाराहरु केन्द्रीकृत र एकीकृत हुन जरुरी छ,’ प्रचण्डले भने, ‘म फेरि एकपटक माओवादी केन्द्रको अध्यक्षको हैसियतले, जनयुद्धको सुप्रिम कमाण्डरको हैसियतले कसैले कसैप्रति दुराग्रह वा पूर्वाग्रह होइन, आजको देशको यथार्थलाई आत्मसात गरौं र फेरि राष्ट्रिय स्वाधिनता र परिवर्तनको निम्ति एक ठाउँमा केन्द्रीत भएर एउटा नयाँ अभियान, नयाँ आन्दोलन, ध्रुविकरण र रुपान्तरणको नयाँ प्रक्रियामा अगाडि बढौं। म गम्भीर रुपले अपिल गर्न चाहन्छु।’

उनले क्रान्तिकारीहरु आफूले चाहेर मात्रै क्रान्ति नहुने बताए। ‘क्रान्ति जनताको कर्म हो, वर्गको कर्मको हो। लाखौं जनतालाई गोलवद्ध गर्ने कुरासँग सम्बन्धित छ क्रान्ति। क्रान्तिकारीले गर्ने होइन,’ उनले भने।

प्रचण्डले क्रान्तिको खोजी गर्न हिँडेका मोहन वैद्य र विप्लव लगायतका नेताहरु प्रति कहिल्यै शंका नभएको पनि बताएका छन्। उनीहरुबाट क्रान्ति हुन्छ कि भनेर लागेका कार्यकर्ताहरुप्रति आफ्नो उच्च सम्मान रहेको उनले बताए।

उनले सहि बिचार, नीति, योजना र कार्यक्रममा करोडौं जनता गोलवद्ध हुने वातावरण नबनेसमम क्रान्तिकारीको चाहना जतिसुकै पवित्र भएपनि क्रान्ति नहुने बताए। त्यसकारण सबै पूर्वमाओवादी धारहरु एकठाउँमा आएर लाखौं जनतालाई सहि बिचार र नीतिमा गोलवद्ध गर्दै क्रान्ति गर्नु आजको आवश्यकता रहेको उनले औंल्याए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here