देशलाई श्रीलंकाको बाटोमा जान नदिन दल र नेता सुध्रिन आवश्यक !

47

दक्षिण एसियाको एउटा मुलुक श्रीलंका अहिले संकटमा छ । आर्थिक संकटका कारण त्यहाँ दिनहुँ प्रदर्शन भइरहेको छ । नेपालभन्दा विकासमा धेरै अगाडि रहे पनि राजनीतिक बेथितिको शिकार बन्दा श्रीलंकाका जनताले सास्ती भोग्नुपरेको छ । कोरोना महामारी अघिसम्म मात्र श्रीलंका मानव विकास सूचकांकमा ७२ औं स्थानमा थियो, जुन भारत र चीनभन्दा पनि माथि हो ।

श्रीलंकाको सरदर आयु ७५ वर्ष थियो । प्रतिव्यक्ति आय पनि ११ हजार डलर थियो, जुन नेपालको भन्दा चार गुणा बढी हो । त्यहाँ शिक्षा र स्वास्थ्यको अवस्थामा पनि धेरै राम्रो थियो । तर, केही वर्षयता विश्वव्यापी रुपमा बढ्दो संकट र देशभित्रको राजनीतिमा पारिवारिक रजगजका कारण श्रीलंकाको अर्थतन्त्र भित्रभित्रै खोक्रिएको थियो । सानो र संवेदनशील अर्थतन्त्र भएकै कारण खतरा झेल्ने क्षमता कम भएकाले यो देशले अहिले दुर्दिन भोग्नुपरेको छ ।

श्रीलंकाको उदाहरण यहाँ किन दिइएको हो भने नेपाल पनि अहिले त्यही बाटोमा छ । नेपालको अर्थतन्त्र संकटमा रहेको स्वयं नेपाल राष्ट्र बैंकका गभर्नरदेखि अर्थविद्हरुले सार्वजनिक रुपमा बताउँदै आएका छन् । देशमा अहिले डलर सञ्चिति घटेको छ भने रेमिट्यान्सको अवस्थामा पनि सुधार भइसकेको छैन । अर्कोतर्फ आयात दिनहुँ बढिरहेको छ, त्यसको तुलनामा निर्यात नगन्य छ । श्रीलंकाको जस्तै नेपालको अर्थतन्त्र पनि सानो र संवेदनशील छ । यसै कारण जुन कुनै बेलामा पनि देश संकटमा पर्ने सम्भावना धेरै छ । श्रीलंकाले आफ्नो आर्थिक अवस्थालाई भुलेर जथाभावी ऋण लिँदा पनि अहिलेको अवस्था सामना गर्नुपरेको हो । नेपाल पनि करिब त्यही बाटोमा छ । सरकारले उठाउने राजस्वबाट चालु खर्च विनियोजन गर्दामै ठिक्क हुने गरेको छ । विकासका लागि भने विदेशी ऋण र अनुदान सहायतामा भर पर्नुपर्ने अवस्था छ । चालु आर्थिक वर्षमा नेपालको कुल सार्वजनिक ऋण १८ दशमलव ४८ खर्ब पुगिसक्ने अनुमान छ, जसलाई धान्नसक्ने अवस्था छैन ।

नेपालमा अहिले मूल्यवृद्धि अत्यधिक छ । बजारमा सरकारको पकड गुम्दै गएको छ । व्यवसायीले मनलाग्दी भाउ तोक्दा पनि सरकारले हस्तक्षेप गर्न सकेको छैन । अर्कोतर्फ अर्थतन्त्रमा संकट बढ्दै जाँदा यसलाई रोकथाम गर्न सरकारले कुनै योजना ल्याउन सकेको छैन । श्रीलंकामा जस्तै सत्तामा परिवारवाद नदेखिए पनि पार्टीमा भने आफन्त तथा आसेपासेलाई नै अगाडि बढाउने गरिएको छ । सरकारमा आलोपालो मन्त्री बन्ने कोटा प्रवृत्ति देखिएको छ ।

मिलिजुली सत्ता दोहन गर्ने पुरानै संस्कार राजनीतिक दलमा देखिएको छ । सरकारमा अहिले कम्युनिष्ट दलहरु पनि सहभागी छन् । तर, सर्वसाधारण, किसान, मजदुरको हकहितमा कुनै योजना ल्याउन सकेको छैन ।

श्रीलंकामा जस्तै संकट अहिले नेपालमा आइनसके पनि यदि यस्तै लापरबाही भइरहेमा त्यो दिन टाढा पनि छैन । त्यसैले सर्वप्रथम राजनीतिक दलका नेतृत्व गम्भीर हुन जरुरी छ । श्रीलंकाको उदाहरणले के भन्छ भने यदि देश नै संकटमा जाने हो भने यसको असर समाजका सबै तह र तप्कामा पर्नेछ ।

देश कैयौं वर्ष पछाडि धकेलिनेछ । जसको कलंकको धब्बा अहिलेका राजनीतिक दल र तिनका नेतृत्वलाई नै जानेछ । त्यसकारण दल र नेताहरु सुध्रिएर देशलाई श्रीलंकाको बाटोमा जान नदिन जरुरी छ , सरकारलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here