काठमाडाैं । काठमाडाैंमा चार जनाको मृत अवस्थामा फेला परेको घटनामा सुसाइड नोट फेला परेको छ।
सोमबार बिहान तार्केश्वर नगरपालिका-२ पदमशालमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन्। गोरखा भिमसेनथापा गाउँपालिका-६ अश्राङ स्थायी घर भई अहिले पदमशालमा एक तले घर बनाएर बस्दै आएकाहरू मृत अवस्थामा फेला परेका हुन्।
प्रहरी स्रोतका अनुसार घटनास्थलबाट केही पानाको सुसाइड नोट पनि फेला परेको छ। ‘केही पानाको नोट फेला परेको छ,’ उनले भने।
मृत फेला पर्नेमा ३८ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३४ वर्षीया सुनिता, ११ वर्षीया छोरा आशिक र ७ वर्षीया आशिका छन्।
उनीहरूको शव विभत्स अवस्थामा फेला परेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा तीन जनाको हत्यापछि आत्महत्या गरेको देखिएको स्रोतको भनाइ छ।
घटनास्थलमा एउटा कोठामा आमा र छोराछोरीको हत्या गरिएको अवस्थामा फेला परेको हो भने दिनेश अर्को कोठामा मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे खबर पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको हो।
बच्चालाई स्कुल बस लिन आएपछि घटनाबारे थाहा भएको हो। आशिका छाउनीस्थित सैनिक स्कुलमा पढ्थिन्। सोमबार बिहान स्कुल बस लिन आउँदा पनि उनी स्कुल बसमा चढ्न आइनन्। घरनजिकै बस्ने दिनेशका दाइले हेर्न जाँदा उनीहरू मृत फेला परेको मेयर कृष्णहरि महर्जनले बताए।
‘बिहान नानीलाई लिन बस आएको रहेछ। उनी बस चढ्न नआएपछि हेर्न जाँदा घटना भएको देखिएको हो,’ उनले भने, ‘त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।’ घटनाबारे अनुसन्धान गर्न फरेन्सिक डाक्टरको पनि टोली पुगेको छ। घटनास्थलमा त्रि.वि. शिक्षण अस्पतालबाट डा. गोपाल चौधरी र डा. आयुष उपाध्याय सहितको टोली खटिएर अनुसन्धान गरिरहेको छ। तारकेश्वर-२ का वडाध्यक्ष राधाकृष्ण खड्गीका अनुसार दिनेशले पदमसाल चौकमा बिजुलीका सामान बेच्ने पसल चलाएका थिए। अहिले पनि उनले पसल चलाइरहेका थिए कि थिएनन् भन्ने खुलेको छैन।