काठमाडाैं । भारतीय सिमानाका हुँदै नेपाल भित्रिने तरकारीको बोराभित्र अवैध लागुऔषध तस्कर हुने गरेको खुलेको छ । हरियो तरकारी ‘प्याकिङ’ बोराभित्र लागुऔषध डोलेक्स (डिसी) बरामद भएपछि यो तथ्य खुलेको हो ।
ट्रकचालक रौतहट गरुडा नगरपालिका–९ का २५ वर्षीय सुभाष राय यादव र १९ वर्षीय मोहम्मद आसफाक आलमलाई पनि प्रहरीले पक्राउ गरेको छ । ब्युरो प्रमुख एसएसपी विकासराज खनालका अनुसार बरामद लागुऔधष रौतहट डुमरियाका–२ का ४६ वर्षीय किशोर चौलागाईंलाई उपलब्ध गराउन भारतीय नाका पार गरी नेपाल भित्र्याइएको थियो । उपभोक्तासम्म लैजाने काम भने चौलागाईंले गर्दै आएका थिए । ‘तरकारीको बोराभित्र लुकाएर डोलेक्स ल्याउने गिरोहका नौजना पक्राउ परेका छन् । त्यसमध्ये केही सेवनकर्ता र बाँकी सबै तस्कर छन् । अनुसन्धान सकिएको छैन,’ एसएसपी खनालले भने ।
दुर्व्यसनी पछ्याउँदा तस्कर फेला
उपत्यकाभित्र डोलेक्सको दुर्व्यसनी बढेको सूचनापछि सूक्ष्म निगरानीमा रहेको प्रहरीले जनाएको छ । दुर्व्यसनी पछ्याउँदै जाँदा प्रहरीले ताप्लेजुङ मेरिङदेन गाउँपालिका–५ का ३३ वर्षीय तुलसा खड्कालाई तीन सय मिलिलिटर डोलेक्ससहित पक्राउ गर्यो । उनको साथबाट कोडिन, नाइट्रभेट, प्रोकिसभनलगायतका अन्य लागुऔषध पनि फेला परेका छन् । प्रहरीले स्रोत खोज्यो । उनलाई उक्त लागुऔषध सुनसरी बराह नगरपालिका–७ का २७ वर्षीय युवराज खड्काले दिने गरेको खुल्यो । प्रहरीले उनलाई पनि पक्राउ गर्यो । अनुसन्धान गर्दै जाँदा उनले रौतहट डुमरियाका–२ का ४६ वर्षीय किशोर चौलागाईंमार्फत लागुऔषध ल्याउने गरेको खुल्यो ।
प्रहरीले जब चौलागाईंलाई पक्राउ गर्यो, तब तरकारीको बोराभित्र लुकाएर लागुऔषध तस्कर हुने गरेको तथ्य खुलेको हो । ‘दुर्व्यसनी भेटिएपछि डोलेक्सको स्रोत खोज्दै गयौँ । घटनासँग जोडिएका एकपछि अर्को तथ्य खुल्दै गए । अभियुक्त पक्राउ पर्न थालेपछि तरकारीको बोराभित्र लुकाएर लागुऔषध तस्कर हुने गरेको तथ्य खुल्यो,’ खनालले भने । प्रहरीका अनुसार किशोरले लागुऔषध डोलेक्स सिन्धुपाल्चोक पाँचपोखरी थाङपालधाप गाउँपालिका–१ का मानबहादुर तामाङबाट पनि लिने गर्थे ।
मानबहादुरले भने गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँका बुद्धबहादुर बम्जनबाट लागुऔषध लिन्थे । मानबहादुरले सर्लाही हरिवन नगरपालिका–३ का ४२ वर्षीय रतन मोक्तान र २८ वर्षीय दीपक श्रेष्ठबाट पनि डोलेक्स खरिद गर्दै आएका थिए । उनीहरूबाट करिब ११ लाख ८० हजार रुपैयाँ मूल्यबराबरको ११ सय ८० बोतल डोलेक्स बरामद भएको छ ।
के हो डोलेक्स ?
डोलेक्स रुघा, खोकी, नाक तथा घाँटीको एलर्जीजस्ता समस्या हुँदा खाने औषधि हो । चिकित्सकको सिफारिसविना यो औषधि प्रयोग गर्न पाइँदैन । समस्या हुँदा ४ देखि १० एमएलसम्म खान मिल्ने यो औषधि अत्यधिक प्रयोग गर्दा शरीर लठ्ठिने, मात लाग्ने जस्ता लक्षण शरीरमा देखा पर्छ । जसले सेवनकर्तालाई भ्रमित तुल्याउँछ ।

















