काठमाडौं । कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन कुमार थापाको अध्यक्षतामा बसेको छ। पार्टी पदाधिकारीहरुको बैठक पार्टी मुख्यालय सानेपामा जारी रहेको छ।
पार्टी सभापतिसँगै २ जना उपसभापति पनि अनुपस्थित भएपछि महामन्त्री थापाको अध्यक्षतामा बैठक बसेको हो। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यव्यस्तताको कारण बैठकमा उपस्थित हुन नसकिने भन्दै खबर पठाएका छन्।
सभापतिको अनुपस्थितिमा उपसभापतिले पार्टी बैठकको अध्यक्षता गर्ने व्यवस्था छ। कांग्रेसमा २ जना उपसभापति छन्। तर, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि बुधबारको बैठकमा उपस्थित भएनन्।
उपसभापति खड्कालाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनी ‘होम आइसोलेसन’मा छन्। अर्का उपसभापति गुरुङ भने अस्ट्रेलिया भ्रमणमा छन्।
कांग्रेसले आफ्नो पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि साउन ३० र ३१ गते बधाई ज्ञापनसहित अभिमुखीकरण कार्यक्रम राखेको छ। उक्त कार्यक्रमको तयारीका लागि पदाधिकारी बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

















