निहारिका राजपुत ‘सोनाली’ले अनशन तोडिन्

80

काठमाडौं । कुमारी आमाको रुपमा आफूलाई परिचित गराउने निहारिका राजपुत ‘सोनाली’ले अनशन तोडेकी छन् ।

आइतबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले अनशन तोडेकी हुन् । राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय शितलनिवास अगाडि आत्मदहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना गरिएकै बेला उनले अनशन सुरु गरेकी थिइन् ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार अनशन तोड्दा उनको माग बमोजिम आरोपी शिवराज श्रेष्ठसँग डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरमा माग गर्ने सहमति भएको छ । उनको मुद्दा अदालतमा विचाराधीन भएकाले अदालतमा सरकारी वकिलले नै यससम्बन्धी माग गर्ने सहमति गरिएको मैनालीले जनाए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले ३१ साउनमा श्रेष्ठलाई पक्राउ गरेर अभद्र व्यवहारको कसूरमा अनुसन्धान गरिरहेको छ । उनले निहारिकासँग आफ्नो पहिले सम्बन्ध भएपनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका छन् । श्रेष्ठले डीएनए जाँच गरिए त्यसलाई सघाउने जनाउँदै आएका छन् । निहारिकाले डीनएन मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने पनि भनेकी छन् ।

सहमतिको दोस्रो बुँदामा डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने भनिएको छ । निहारिकाले डीएनएको जाँच नेपाल प्रहरीको विधि विज्ञान प्रयोयगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा पनि हुनुपर्ने भनेकी छन् । निहारिकाले मुद्दाको अन्तिम सुनुवाइसम्म बहसका लागि महान्यायाधिवक्ताको कार्यालयबाट २ जना वरिष्ठ वकिल पठाउने व्यवस्था हुनुपर्ने पनि माग गरेकी छन् ।

उनले ‘कुमारी आमा’हरुबाट जन्मिएका बच्चाहरुको स–सम्मान बाँच्न पाउने संवैधानिक अधिकारको सुनिश्चितताका लागि सरकारले पहल गर्नुपर्ने पनि भनेकी छन् ।लसहमतिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र निहारिकाले हस्तक्षर गरेका छन् । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रोहवरका रुपमा हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here