गुल्मीमा डेङ्गु दैनिक रूपमा बढ्दो

139

तम्घास । गुल्मी जिल्लामा डेङ्गुका बिरामीहरू दैनिक रूपमा बढ्दो क्रममा रहेका छन् ।

जिल्लाको सत्यवती गाउँपालिकामा एक सय जना, छत्रकोट गाउँपालिकामा पाँच जना, रेसुङ्गा नगरपालिकामा छ जना सङ्क्रमित हुनुभएको छ । यस्तै, मुसिकोट नगरपालिकामा एक, इश्मामा तीन, मालिकामा एक, गुल्मी दरबारमा एक, मदानेमा एक, कालीगण्डकीमा एक र प्राइभेट क्लिनिकहरूमा परीक्षण गर्दा चार जना गरी १२३ जनामा सङ्क्रमण देखा परेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो ।

पछिल्लो समयमा गुल्मीमा पनि डेङ्गु रोग गाउँ गाउँमा फैलिएकाले सचेत रहन र परीक्षण गर्नका लागि स्थानीय तहका स्वास्थ्य शाखाहरूसँग समन्वय गरिएको उहाँले बताउनुभयो । रोग परीक्षणका लागि आवश्यक पर्ने कीट सबै पालिकाका स्वास्थ्य शाखाहरूलाई पठाइएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक बोमबहादुर अर्यालले जानकारी दिनुभयो । जिल्लामा परीक्षणका लागि गुल्मी अस्पताल र आफूहरूसँग पर्याप्त मात्रामा कीट रहेको अर्यालले बताउनुभयो । यता, गुल्मी अस्पतालका डा. उत्तम पच्याले यो रोग लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको बताउनुभएको छ ।

साँझमा सुत्दा झुल लगाएर सुत्ने, शरीर छोपिने गरी कपडाहरू लगाउने, घर वरपर पानी जम्ने खाल्डाखुल्डीहरू नराख्ने र उच्च ज्वरोसँगै स्वास्थ्यमा समस्या देखा परेमा नजिकको स्वास्थ्य संस्थाहरूमा गई स्वास्थ्य परीक्षण गराउन उहाँले सुझाव दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here