पुरस्कार पर्‍यो’ भन्दै सामाजिक सञ्जालमा म्यासेज पठाएकाे नखोल्न दूरसञ्चार प्राधिकरणकाे आग्रह

52

काठमाडौं  । तपाईलाई कसैले ‘यस्तो–यस्तो पुरस्कार पर्‍यो’ भन्दै सामाजिक सञ्जाल र म्यासेजिङ एपमा म्यासेज पठाए, त्यस्ता म्यासेज नखोल्न दूरसञ्चार क्षेत्रको नियामक निकाय, नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । त्यस्ता म्यासेजमा राष्ट्रिय झण्डा, सरकारी कार्यालय तथा इन्टरनेट सेवा प्रदायकको लोगो दुरुपयोग गरिरएको हुनसक्ने प्राधिकरणको भनाइ छ । र, त्यसमा नझुक्किन आग्रह गरिएको छ ।

भाइबर, म्यासेन्जर, ह्वाट्सएप, विच्याटजस्ता एपमा प्रलोभनयुक्त तरिकाले पुरस्कार परेको भनी म्यासेज पठाएर सेवाग्राहकीलाई ठग्ने गरेको प्राधिकरणले जनाएको छ । साथै, त्यस्ता प्रलोभनमा परी अपरिचित व्यक्तिलाई आफ्नो नाम, मोबाइल नम्बर, बैंक खाता लगायतको जानकारी नदिन आग्रह गरेको छ । ‘यस्ता प्रलोभनमा नपरी यससम्बन्धी म्यासेज र यससँग आउने लिंक नखोल्नु हुन र यस्ता गतिविधिबाट सचेत रही आफू नठगिन र अरूलाई पनि ठगिनबाट जोगाउन उपभोक्तालाई जानकारी गराइन्छ,’ प्राधिकरणले बुधबार जारी गरेको सूचनामा भनिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत् ठगीमा पर्नेको संख्या बढिरहेको छ । प्रहरीकहाँ दिनहुँ यस्ता उजुरी पर्ने गरेका छन् । नेपाल प्रहरीको फेसबुक पेजमा सामाजिक सञ्जालबाट हुने ठगीका उदाहरणहरू प्रसस्त पोस्ट भइरहेका हुन्छन् । दसैं–तिहारको छेकोमा चिठ्ठा, लट्री आदि परेको भन्दै म्यासेज आउन सक्छन् । त्यस्ता म्यासेज नपत्याउन र प्रलोभनमा नफस्न नियामकले सुुसुचित गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here