सरकारकै योजना सुस्त

42

सुर्खेत । सङ्घीय सरकारले आर्थिक वर्ष ०७७/७८ मा ल्याएको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रम दुई वर्ष बितिसक्दा पनि खासै उपलब्धिमूलक हुन सकेको छैन।

सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले सङ्घीय सरकारले सुरु गरेको योजना प्रभावकारी बन्न सकेको छैन। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार निर्माण कार्य सुरु भएका धेरैजसो भवनको प्रगति पनि सुस्त छ। पहिलो चरणमा आर्थिक वर्ष २०७७/७८ मा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माणका लागि कर्णालीका ४२ वटा पालिका छनोट भएका थिए। त्यस्तै दोस्रो चरणमा गएको आर्थिक वर्ष २०७८/७९ मा सोही क्षमताका थप २४ स्थानीय तहमा अस्पताल निर्माणको योजना अघि बढाइएको थियो। प्रदेशका ७९ तहमध्ये दुई चरणमा गरी ६६ पालिकामा बजेट र कार्यक्रम पठाइए पनि हालसम्म २७ पालिकामा मात्रै अस्पताल निर्माणको काम भइरहेको छ।

कर्णालीमा आधारभूत अस्पताल निर्माण तथा स्तरोन्नतिका लागि पहिलो चरणमै सङ्घीय सरकारले ५२ करोड ७६ लाख २० हजार रुपियाँ बजेट विनियोजन गरेको थियो। जसअन्तर्गत पाँच शय्याका लागि ७० लाख, १० शय्याका लागि ८५ लाख र १५ शय्याका अस्पताल भवन निर्माण गर्न सम्बन्धित पालिकामा एक करोड बजेट पठाइएको थियो। दोस्रो चरणमा छनोट भएका स्थानीय तहमा पनि सोही आधारमा रकम पठाइएको छ।

स्थानीय तहहरूमा १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गर्ने योजना अपेक्षाकृत रूपमा अघि बढ्न नसकेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले बताउनुभयो। निर्माण थालिएका पालिकामा पनि काममा ढिलासुस्ती भइरहेको उहाँको भनाइ छ। आधारभूत अस्पताल निर्माणको प्रगति सन्तोषजनक नभएको भन्दै उहाँले यस कामको मूल्याङ्कन अनुगमन प्रभावकारी हुनुपर्ने बताउनुभयो।अस्पताल भवन निर्माणका लागि जग्गाको मापदण्ड सङ्घीय सरकारले तोकिदिँदा झनै समस्या भएको उहाँको भनाइ छ। भवन निर्माण स्थलको टुङ्गो लागेका कतिपय ठाउँमा अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत निर्माण भएको छैन। कैयौँ निर्माणाधीन भवनको जग हालेर त्यतिकै छोडिएको अवस्था छ। २७ वटाभन्दा कम पालिकामा मात्रै भवन निर्माणको काम चलिरहेको बताइएको छ।

पालिकाले समयमै अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन नसक्दा उपलब्ध बजेटसमेत फ्रिज भएको छ। दैलेखका ११ मध्ये सातवटा स्थानीय तह आधारभूत अस्पताल निर्माणका लागि छनोट गरिएका थिए। भैरवी, नौमुले, ठाँटीकाध, महाबु, गुराँस गाउँपालिका र चामुन्डा बिन्द्रासैनी तथा आठबीस नगरपालिकामा अस्पताल निर्माणको योजना थियो। त्यसमध्ये भगवतीमाई गाउँपालिका र गुराँस गाउँपालिकाले भवन निर्माणको काम अघि बढाएका छन्। केही पालिकाले आफ्नो र सङ्घीय सरकारको संयुक्त लगानीमा पनि काम सुरु गरिरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार कतिपय पालिकामा भने मापदण्डले तोकेअनुसार जग्गा नपाउँदा समस्या भइरहेको छ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–२, सालकोटमा प्राथमिक स्वाथ्य केन्द्रलाई स्तरोन्नति गरेर आधारभूत अस्पताल बनाइँदै छ। निर्देशनालयका अनुसार कालीकोटको सान्नीत्रिवेणी नगरपालिकामा पनि आधारभूत अस्पताल भवन निर्माणको काम सुरु भएको छ। त्यहाँ सङ्घीय सरकारको सात करोड ११ लाख र पालिकाको चार करोड ५० लाख रुपियाँ गरी कुल १५ करोड ५० लाख रुपियाँको संयुक्त लगानीमा निर्माण कार्य थालिएको बताइएको छ।   गाेरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here