काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण छ : मन्त्री श्रेष्ठ

76

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंजस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नुनहुने बताएका छन्।

आइतबार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताए।

उनले पहिलाका भौतिक संरचनाको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहने उल्लेख गर्दै काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए।

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दीगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिवद्धता जनाए।

पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा उनको जोड थियो।

‘काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै पर्यटकीय गन्तव्य छन्, त्यसैले काठमाडौंको मोडालिटीलाई हामीले परिवर्तन गरेर जानुपर्छ। शहरका पहिलाका घरहरू जस्ता छन् त्यस्तै राख्नुपर्छ। साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने, यसलाई मास्ने कामहरू गर्नुहुँदैन,’ उनले भने,‘हिजो जुन खालको यो शहरको बनावट छ, त्यसको अवस्था छ, त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ। त्यसरी नै हामीले यसलाई विश्वमा चिनाउन सक्छौं।’

मन्त्री श्रेष्ठले अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताए। उनले मन्त्रालयले पुरानै शैलीमा संरचनाको स्थापना गर्ने योजना बनाएको जानकारी दिए। पर्यटकीय संरचना निर्माणसँगै काठमाडौं उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्ने बारेमा पनि मन्त्रालयले योजनावद्ध रूपमा काम गरिरहेको उनले बताए।

‘अहिले हामी बिस्तारै आधुनिकताको नामबाट हिजोका हाम्रा संस्कृतिलाई भुल्दै गएका छौं। नयाँ घर निर्माण गर्दा आधुनिक शैली अपनायौं। जसले गर्दा हिजोको पहिचान मेटिँदै छ। हाम्रो उद्देश्य भनेको यसलाई पुरानै शैलीमा लैजानु हो। हिजोका सम्पदाका शैलीलाई त्यही रूपमा स्थापना गर्ने हाम्रो उद्देश्य छ। यो बाटोमा सबै घर पुरानै शैलीमा जाओस् भन्ने योजना बनाएका छौं,’ उनले भने।

हनुमान ढोकादेखि स्वयम्भूसम्म २.२ किलोमिटरको सम्पदामार्ग निर्माण हुँदैछ। पर्यटकहरुलाई शान्तिपूर्ण रूपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदामार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताए।

यो सम्पदा मार्गमा ट्रेल सञ्चालन हुने र सांस्कृतिक सम्पदा झल्काउने, जन्मदेखि मृत्युसम्मका संस्कार हेर्न सकिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here