काठमाडाैं । त्रिभुवन विश्वविद्यालय र नेपाल विद्यार्थी संघबीच ८ बुँदे सहमति भएको छ । त्रिविको वार्ता समिति र नेविसंघका प्रतिनिधिहरूबीच वार्ता भएको थियो । वार्तापछि त्रिविका विभिन्न निकायमा नेविसंघले लगाएको ताला खोलिएको नेविसंघ त्रिवि नेता विष्णु बहादुर बडैलाले जानकारी गराए ।
विद्यार्थी छात्रवृत्तिका लागि सेन्ट्रल पोर्टल निर्माण गरी कार्यविधि ३ महिना भित्र तयार गर्ने र कार्यान्वयनमा ल्याउने, त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डरलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने, त्यसका लागि सेमेस्टर प्रणालीअन्तर्गत ३ महिनाभित्र र वार्षिक प्रणालीको ५ महिनाभित्र नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउने सहमति नेविसंघ र त्रिविबीच भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गर्ने कार्यहरु र प्रमाणपत्र वितरण कार्य क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरु मार्फत समेत गर्ने, विश्वविद्यालयमा घटित अप्रिय घटना तथा उत्पन्न परिस्थितिप्रति दुःख प्रकट गर्दै आगामी दिनमा संवेदनशिल बनेर विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूको त्रिपक्षीय सम्बन्धलाई स्थापित गर्ने र हरेक मुद्दाहरूलाई वार्ता, संवाद र सहमतिबाट समाधान गर्ने सहमति समेत गरिएको छ । यी सहमतिपछि नेविसंघले विश्वविद्यालयमा लगाएको तालाबन्दी लगायत आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु आजैबाट फिर्ता लिएको छ ।


















