सप्तरी–२ को निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा

53

राँझा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा पूर्वमन्त्री र पूर्वनगरप्रमुखबीच चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वनगरप्रमुख डा. धवलशम्शेर राणा गाउँगाउँमा चुनावी प्रचारप्रसारमा व्यस्त रहनुभएको छ । दुवै उम्मेदवारले नेपालगञ्जमा विकासको एजेण्डालाई प्राथमिकता दिनुभएको छ ।

डा. राणा नेपालगञ्ज उपमहानगरपालिकामा दुई कार्यकाल नगर प्रमुख भएर विकासप्रेमी नेताका रुपमा छवि बनाउनुभएको छ भने राईले पछिल्लोपटक भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा सडक र पुलका योजना ल्याएर धमाधम शिलान्यास गरी चर्चित हुनुभएको छ । राई यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । त्यतिबेला डा. राणा नेपालगञ्ज उपमहानगरपालिका प्रमुखमा विजयी हुनुभएको थियो ।

“अहिले परिस्थिति फेरिएको छ । यहाँ कसले जित्छ यसै भन्न सक्ने स्थिति छैन”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ भन्नुहुन्छ, “पूर्वमन्त्री र प्रमुखको चर्चा छ ।”

राप्रपाका उम्मेदवार राणालाई जिताउन बाँके क्षेत्र नं २ मा नेकपा (एमाले)ले चुनावी तालमेल गरेको छ । प्रतिनिधिसभामा राप्रपा र दुईवटै प्रदेशसभामा एमालेका उम्मेदवारलाई जिताउने गरी चुनावी तालमेल भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो ।

पूर्वमन्त्री र नगरप्रमुखको चर्चा भए पनि पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको चुनावी क्षेत्र रहेको यस षेत्रमा नेपाली कांग्रेसको पकड पनि राम्रो छ । यो निर्वाचन क्षेत्रमा पर्ने नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जीत हासिल गरेको छ ।

नेपाली कांग्रेसबाट यहाँ सुदीप नरसिंह राणा उम्मेदवार बन्नुभएको छ । उहाँ सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को साझा उम्मेदवार बन्नुभएको हो ।

राप्रपा र नेपाली कांग्रेसका उम्मेदवार जिताउन चुनावी गठबन्धन र तालमेल भइरहँदा पूर्वमन्त्री एवं जनता समाजवादीका नेता राई भने यो निर्वाचन क्षेत्रमा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । तीनवटै उम्मेदवारले आफूले निर्वाचन जित्ने दाबीका साथ मतदाताको घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै, आफ्ना कुरा मतदातालाई सुनाउने क्रम जारी छ ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रको २४ हजार नौ सय ८०, नेकपा एमाले र राप्रपाको २३ हजार नौ सय ७२ तथा जनता समाजवादी पार्टीको १४ हजार एक सय नौ मत छ । RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here